प्रचण्ड–नेपालमाथि ओलीका व्यंग्यै–व्यंग्य,‘पार्टी भनेको बरमझियाको पेडा पसल हो?’


काठमाडौैं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालमाथि व्यंग्यै व्यंग्य गरेका छन्।

शनिबार काठमाडौंमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड–नेपालको सरकारको नारामा पनि चित्त दुख्ने गरेको बताए। उनले भने,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउनुभयो सुखी नेपाली समृद्ध नेपालमा भारतको सहयोग र साथ रहन्छ भन्नुभयो, चिनियाँ राष्ट्रपतिले पनि सहयोग गर्ने भनी बोल्नुभयो। तर प्रचण्ड र नेपाल बोलेको कहीँ सुन्नुभयो? उहाँहरूलाई च्वास्स दुख्छ।’

भाषणभरी उनी प्रचण्ड–नेपालमाथि आक्रामक रुपमा प्रस्तुत भए। उनले पार्टीको फोहोर किनारा लागेको भन्ने पनि उल्लेख गरे।

‘एउटा माइलस्टोन हुनेछ। फोहोरलाई अझ पर छालले हुत्याउनेछ’, ओलीले सुरुआतमै भने,‘हाम्रो पार्टीको बैठकमा उपस्थित नभएर हराएका मान्छेहरूले एउटा नारा लगाएछन्, अर्काले अर्काथरी लगाए, त्यहिँ ठाकठुक भयो होला।’

प्रचण्ड– नेपाल पदका भोका भएको पनि उनको आरोप थियो। त्यसलाई व्याख्या गर्दै उनले व्यंग्य कसीदिए।

‘पद चाहिएको थियो भने त पार्टीको बैठकमा पो आउनुपर्ने थियो त अन्त गएर हुन्छ?’, माधव नेपालमाथि प्रतिकात्मक व्यंग्य गर्दै ओलीले भने,‘सुन्तला खानु छ भने त सुन्तलाघारी तिर पो आउनुपर्छ, सल्लाघारीतिर गएर हुन्छ?’

राजनीति जनताका लागि गर्नुपर्ने तर्क प्रधानमन्त्री ओलीको थियो। बेलामौका पद पैसा र परिवारका लागि प्रचण्डले मरिहत्ते गरेको आरोप लगाउने गरेका ओलीले फेरि पनि व्यंग्य ठोकेका थिए। उनले प्रचण्डलाई व्यंग्य गर्दै भने,‘हामी देशको भविष्यका लागि लडिरहेका छौं, छोराछोरी, भाई भतिजा बुहारीका लागि लडिरहेका छैनौं।’

प्रचण्ड–नेपाल समूहले भेला पारेको मान्छे जति त रत्नपार्कमा ओखती बेच्नेले पनि पार्ने तर्क गरेका उनले दुवैजनालाई नट बल्टुको संज्ञा दिए।

‘खिया कहाँ लागेको रहेछ? दुईटा नट बल्टु खोल्दाखेरी पार्टी बन्यो, हामीले पनि खोलेको होइन, आफैं फुक्लिएका हुन्’, उनले भने,‘उहाँहरुले निर्वाचन आयोगमा असली हामी हौं भनेर दाबी गर्नुभएछ, यो बरमझियाको बुढाको पेडा पसल हो? हामीले निवेदन हाल्नु पर्दैन, हामी संविधानसम्मत छौं।’

उनले अहिले पनि प्रचण्डलाई अध्यक्षमा राखेको, नेपाल र झलनाथ खनाललाई पनि नेतामा नै राखेको बताउँदै अगाडि जोडे,‘उहाँहरूले निर्वाचन आयोगमा पनि केपी ओलीलाई निकाल्यौं भनेर पत्र बुझाउनुभएछ, निर्वाचन आयोगका आयुक्तहरू कति दिन हाँस्नुभयो होला।’

ओलीले व्यंग्यात्मक शैलीमा भाषण गर्दा कमलादिस्थित प्रज्ञा प्रतिष्ठानको खचाखच भरिएको सभाहल हाँसोले गुञ्जयमान भएको थियो। उनले सरकारले विकासका काम गरेको भन्दै देशका विभिन्न सडकमार्गको चर्चा गरे। देश सुरुङ मार्गको युगमा पुगिसकेको उल्लेख गरेका उनले अगाडि थपे,‘सुरुङ हेर्न अब विदेश जानु पर्दैन, थानकोट गए हुन्छ।’

उनले मान्छे भड्काउनका लागि प्रायोजित समाचार प्रकाशन गरी आफूलाई स्थापित गर्ने कोशीश प्रचण्ड–नेपालले गरेको उनको आरोप थियो।

‘सरकारका विकासका काम देखेर धेरै चकित भए। यो मान्छेका पालामा नै सबैकुरा हुने भयो भनेर केही मान्छेको मन दुखेको छ’, उनले कतिपयले छिर्के लाउन खोजेको बताउँदै भने,‘अल्झाउन खोजे, अल्झिँदैन, लड्दैन। अनि सामाजिक मर्यादा मिचेर हिँडे। मैले धेरै बर्षअघि भनेको थिएँ गोरु नांगो हुँदैमा लाज लाग्दैन।’

उनले प्रतिनिधि सभा पुनःस्थापना नहुने दाबी गर्दै निर्वाचन आयोगले चुनावको काम थालेको बताए। उनले १६५ सीट जित्ने दाबी गरेको भन्दै ओलीले भने,‘कम्तिमा दुईटा अंक भएको सिट ल्याउनुहोस्। तर उहाँहरूले थाहा पाइसक्नुभयो, फर्किनुहुन्छ। केन्द्रीय कमिटीमा ठाउँ राखेका छौं। तर फर्केपछि उपद्रो मच्चाउन पाइँदैन।’

आफ्नो दुई तिहाईको सरकार ढाल्नका लागि प्रचण्ड–नेपाल सक्रिय भएको आरोप लगाएका उनले थपे,‘अनि विभिन्न रंगीविरंगी पार्टी जोरजाम गरेर पुतली सरकार बनाउने तयारी गर्नुभयो, त्यतातिर फँस्न नदिनका लागि आफ्ना देशका लागि सञ्चालन हुने सरकारका लागि प्रतिनिधि सभा विघटन गरी नयाँ जनादेशको घोषणा भएको हो।’

उनले नेता भिम रावललाई समेत व्यंग्य गरेका थिए। ‘एउटा मान्छे गएछ, कार्यकर्ताले दुख गरेर राखेको ३० लाख रुपियाँ छलछाम गरेर उहिल्यै चैट पारिसकेका रहेछन्, यीनिहरूको ध्यान कहाँ छ?’, उनले भने।

चार्ली च्याप्लिनको क्यारिकेचरको कथा सुनाउँदै भने,‘कसले राम्रो क्यारिकेचर गर्छ भनेर स्पर्धामा चार जना गएछन्। चार्ली च्याप्लिनचाहिँ छानिएनछ। हाम्रो अदालतले चार्ली च्याप्लिन राम्रोसँग चिन्छ। कुम हल्लाएको, जेल लगाएको हेरेर छुट्याउँदैन।’

यतिमात्र होइन, उनले एउटा केटाकेटीको कथा सुनाउँदै प्रचण्डलाई तुलना गरिदिए। ‘मैले दुई जना केटाकेटीमा एउटाले खेलाउना ल्याएछ, अर्काले एकछिन खेलाएछ। पछि अर्कोले मेरो खेलाउन भनी दाबी गरेछ’ उनले भने,‘कस्तो प्रचण्ड जस्तै पो रहेछ है, कार्यकारी अध्यक्ष के दिएको थिएँ पार्टी नै मेरो भन्न थाले।’

प्रतिक्रिया