असिनाले खेतीबाली नष्ट


म्याग्दी- जिल्लाको विभिन्‍न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ। बेनी नगरपालिका सहित रघुगंगा र मंगला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश बनेका हुन् । रघुगंगाको बेग, भगवती, पिप्ले, मौवाफाँट, बेनीको रत्नेचौर, भकुण्डे, भकिम्ली, डडुवा, मंगलाको बरंजा, सीमलचौरमा हावाहुरीसहितको असिना परेको थियो ।

भित्र्याउने बेला भएको गहुँ, भर्खरै उम्रिएको मकै र आलुका बिरुवा असिनाले चुटेर नष्ट बनाएको रघुगंगा–३ मौवाफाँटका कृष्णप्रसाद शर्माले जानकारी दिए। यतिखेर जिल्लाको मध्यपहाडी र लेकाली क्षेत्रमा गहुँ भित्र्याउने चटारो छ।

हावाहुरीसँगै असिनापानी परेको थियो। सुन्तला जात फलफूल र तरकारी खेतीमा पनि असिनाले क्षति गरेको मंगला–३ बरङ्जाका कृष्णलाल सापकोटाले बताए। क्षतिको पूर्ण विवरण आइ नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

प्रतिक्रिया