स्वास्थ्य र शिक्षामा मुनाफा हुनुहुँदैन, बजेट बढाएर पनि सेवा निःशुल्क गर्नुपर्छ : डा. भट्टराई
काठमाडाैं – जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेट बढाएर स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउनुपर्ने बताएका छन् ।
राष्ट्रिय योजना आयोगले शुक्रवार आयोजना गरेको ‘नेपालको स्वास्थ्य क्षेत्रः वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले आगामी आर्थिक वर्षको बजेट बढाएर स्वास्थ्य सेवाको गुणस्तर तथा सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउनुपर्ने बताए ।
उनले संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क गराउने उल्लेख गरिए पनि नसकिएको बताए । ‘राज्यले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा निःशुल्क दिनुपर्दछ भनेर हामीले नै संविधानमा राखेका छौं,’ उनले भने, ‘तर अहिले व्यवहारतः कार्यान्वयन गर्न सकिएको छैन । आगामी आर्थिक वर्षमा बजेटको आकार बढाएर स्वास्थ्य सेवा निःशुल्क गराउनतर्फ लाग्नुपर्दछ ।’
उनले राज्यबाट सञ्चालित रहेका स्वास्थ्य संस्थालाई बलियो बनाई जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने धारणा राखे । उनले स्वास्थ्य र शिक्षालाई मुनाफारहित बनाउनुपर्ने भन्दै निजी क्षेत्रको स्वास्थ्य सेवालाई कडाइका साथ अनुगमन गर्नुपर्ने बताए ।
‘स्वास्थ्य र शिक्षामा मुनाफा हुनुहुँदैन,’ उनले भने, ‘निजी क्षेत्रलाई खुला छाड्नुहुँदैन । कडाइका साथ अनुगमन गर्नुपर्दछ ।’ एक वडा एक चिकित्सक राख्न सके स्वास्थ्यलाई सर्वसुलभ बनाउन सकिने उनको भनाइ थियो ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी आवमा स्वास्थ्य क्षेत्रमा बजेट बढाएर निःशुल्क स्वास्थ्य सेवाको कार्यान्वयनतर्फ जानुपर्ने बताए । ‘अन्य ठाउँको बजेट कटौती गरेर स्वास्थ्य क्षेत्रको बजेट बढाउनुपर्दछ,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रको बजेट बढाएर निःशुल्क सेवा उपलब्ध गराउनुपर्दछ ।’ महामन्त्री थापाले एक संस्था एक चिकित्सको अवधारणा लागू गर्नुपर्ने धारणा राखेका छन् ।