बालुवाटारमा प्रधानसेनापति थापाको तारान्तार दौडको अर्थ


काठमाडौं– प्रतिनिधि सभा विघटनयता प्रधानसेनापति पूर्णचन्द्र थापा प्रधानमन्त्री केपी शर्मा ओलीको बोलावटमा दिनानु बालुवाटार पुग्ने गरेका छन्।

रक्षा मन्त्रालय समेत आफैं राखेका प्रधानमन्त्री ओलीले अहिलेको अवस्था अझ बिग्रिएको खण्डमा सेना तयारी अवस्थामा राख्नुपर्ने भएकाले विविध विकल्पबारे प्रधानसेनापति थापासँग दैनिक जसो परामर्श गरेको बताइन्छ।

योसँगै नेपाली सेनाको ‘इन्टेलिजेन्स’ले देशमा भइरहेका राजनीतिक र अराजनीतिक विषयमा कस्तो धारणा र रिपोर्ट तयार पारेको छ भन्ने विषयमा पनि ओलीले जानकारी लिइरहेको उच्च स्रोतले जनाएको छ।

हालै मात्र राजनीतिक अवस्थाबारे नेपाली सेनाका उच्च अधिकारीको बैठक जसलाई पिएसो भनिन्छ, भएको थियो। सो क्रममा विप्लव नेकपाको गतिविधिको मात्र नभएर बदलिँदो राजनीतिक अवस्थाका विषयमा चर्चा भएको थियो। सुरक्षा अवस्थालाई बलियो बनाउनका निम्ति माथाहतका सैन्य निकाय र इकाईलाई पनि निर्देशन भइसकेको बताइएको छ।

सेनाको निकायले आफूलाई आधिकारिक रुपमा जानकारी दिन सकोस् भन्ने सोचले नै प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफैंसँग राखेका हुन्। मन्त्रिपरिषदको संख्या संविधानबमोजिम पूरा गरेका उनले रक्षा मन्त्रालय कसैलाई दिएका छैनन्। उनले अघिल्लो पटक मन्त्रिपरिषद पुनर्गठन गर्दा ईश्वर पोखरेलबाट रक्षा मन्त्रालय आफूमा राखेका हुन्।

‘रक्षा मन्त्रालय आफूमा राख्नु र प्रतिनिधि सभा विघटन गर्नु कुनै संयोग नहुन सक्छ, त्यहाँमाथि प्रधानसेनापतिसँगको निरन्तरको परामर्शले निको सन्देश दिँदैन, शंका गर्ने ठाउँ दिन्छ’, उच्च स्रोतले भन्यो,‘कुनै राजनीतिक अनिष्ठ नहोस् भन्ने पनि होला, भैगए त्यसलाई नियन्त्रणमा लिनका लागि पनि परामर्श भएको हुन सक्छ।’ 

प्रधानमन्त्री कार्यालयबाट अरू सुरक्षा निकायका प्रमुखलाई झैं प्रधानसेनापतिलाई पनि निर्वाचन तयारीका लागि निर्देशन दिइँदै आएको छ।

बालुवाटारको खबर आउने गरेपछि सेनापतिले आफ्नै लिगल डिभिजन (प्राड)का प्रमुख रत्नप्रकाश थापासँगको परामर्श बलियो बनाएको विवरणमा उल्लेख छन्।

प्रतिक्रिया