सन् २०२० मा इतिहासकै कम पर्यटक, ८१ प्रतिशतले गिरावट


काठमाडौँ – सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गर्दै उद्घाटनसमेत गरेको थियो । तर, चीनबाट फैलिएको कोरोना भाइरस विश्वभर महामारीका रूपमा फैलिएपछि नेपालले भ्रमण वर्ष कार्यक्रम नै रद्द गरेको थियो ।

सोही कारण सन् २०२० मा इतिहासकै कम पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा सन् १९९३ देखि पर्यटक आगमनको तथ्यांक राख्न थालिएको हो । पहिलो वर्ष सन् १९९३ मा २ लाख ९३ हजार ६ सय ६७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसपछि प्रत्येक वर्ष बढ्दो क्रममा रहेको पर्यटक आगमनदर माओवादी द्वन्द्व चर्कंदै गएपछि सन् २००२ मा घटेर २ लाख ७५ हजार ४ सय ६८ मा खुम्चिएको थियो । त्यसयता पर्यटक आगमनदर नेपालमा बढ्दो क्रममा रहेको थियो । तर, कोभिड–१९ का कारण सन् २०२० मा इतिहासकै कम पर्यटक आएका हुन् ।

सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल आएकामा सन् २०२० मा घटेर २ लाख ३० हजार ८५ पर्यटक मात्रै नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको भन्दा ८१ प्रतिशतले कमी हो । सन् २०२० मा आएको पर्यटकको तथ्यांक १८ वर्षअगाडि भित्रिएको तथ्यांकभन्दा पनि कम हो । अहिले घटेको पर्यटकको संख्याको असर देखिन सुरु गरेको होटेल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले बताइन् । कोभिड–१९ कै कारण राणा परिवारले पाँचतारे होटेल अन्नपूर्ण नै बन्द गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया