

विद्यार्थी धमाधम बिरामी हुन थालेपछि विद्यालय बन्द

हुम्ला – धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको छ ।
हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका-४ मा रहेको हिमज्योति माध्यमिक विद्यालयका विद्यार्थी धमाधम बिरामी थालेपछि विद्यालय बन्द गरिएको हो। ६ देखि १० कक्षासम्मका विद्यार्थीमा अनौठो बिरामी देखिएको छ ।
शुरूको दिन ६ कक्षामा अध्ययनरत एक छात्रामा हात खुट्टा बाउँडिने समस्या देखिएको भए पनि अहिले २० जनाभन्दा विद्यार्थीमा यो समस्या देखिएको प्रधानाध्यापक जयबहादुर धामीले बताए ।
छात्रा बिरामी हुँदा छात्रहरूमा देवता आउनुका साथै अनौठो बिरामी देखापरेको प्रधानाध्यापक धामीले बताए । छात्राछात्रमा काँप्ने, रुने, कराउने र चिच्याउने गर्नुका साथै शरीर बाउँडिने समस्या देखा परेको छ ।
पहिलो दिन १ जनामा देखिएको थियो भने दोस्रो दिन २ जनामा हुँदै यो समस्या तेस्रो दिन २० जनाभन्दा बढीमा देखिएको उनले बताए । १० कक्षामा अध्ययनरत २ जनामा यो समस्या देखिएको छ ।
विद्यार्थी अचानक बिरामी हुन थालेपछि जनस्वास्थ्य सेवा कार्यालय हुम्ला, गाउँपालिकाको स्वास्थ्य शाखा र प्रदेशमा बिरामी विद्यार्थीको उपचारका लागि मनोचिकित्सकको चाँडो व्यवस्था गर्न पत्राचार गरिएको प्रधानाध्यापक धामीले बताए ।
बिरामीको समस्या दिन प्रतिदिन बढ्दै गएपछि बिहीवार २ वटा विषय पठनपाठन गराएर १ दिनका लागि विद्यालय बन्द गरिएको जानकारी प्राप्त भएको छ । विद्यार्थी बिरामी हुन थालेका ३ दिन भएको छ ।
महिला पुरुष विद्यार्थीमा देवता आएर धामी झाँक्रीको जस्तै शरीर काँप्ने गरेका छन् । ६ देखि १० कक्षासम्मका छात्रछात्रा बिरामी पर्न थालेपछि अभिभावक चिन्तित भएका छन् । हुम्लामा यो समस्या विद्यार्थीमा पहिलो पटक देखापरेको हो ।

