चन्द्रागिरी–१३ का स्थानीयहरु धुलोले आक्रान्त, वडाध्यक्षको प्लटिङ साहूसँग सेटिङ !


काठमाडौं – चन्द्रागिरी नगरपालिकाका अधिकांश स्थानीयहरुले सडक नबन्दा धुलो उडेर सास्ती खेप्नु परेको छ। धुँवा, धुलोको कारण रोगसँग लडिरहेका स्थानीयहरु त्यहाँका जनप्रतिनिधीहरुसँग रुष्ट भएका छन्।

अझ चन्द्रागिरी नगरपालिका–१३ मा त धुलोको कारण स्थानीयहरुले नसोचेको सास्ती खेप्नुपरेको छ। १३ का वडाध्यक्ष हुन् बालमुकुन्द बिडारी। उनी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधी हुन्।

उनको कार्यकाल सकिन लागेको छ। तर, आफ्नो पाँँच वर्षे कार्यकालमा उनले चन्द्रागिरी–१३ मा विकास गर्न नसकेको त्यहाँका स्थानीयहरुको आरोप छ।

जताततै फोहोर र धुलोले चन्द्रागिरी–१३ दुषित भएको स्थानीयको भनाइ छ। सहज रुपमा त्यहाँको फोहोरको समेत व्यवस्थापन हुन सकेको छैन। फोहोरका कारण उक्त क्षेत्रको सुन्दरतामा ह्रास आएको छ।

दिनहुँ सयौं गाडी गुड्ने, सयौँ मानिस हिँड्ने चन्द्रागिरी–१३ मा धुलोले गर्दा त्यहाँका अधिकांश स्थानीयहरु फोक्सो तथा मुटुरोगले ग्रसित हुने चिकित्सकहरुको दाबी छ।

वडाध्यक्ष बिडारीले सेटिङमा समेत काम गर्ने खुलेको छ। सार्वजनिक खोलालाई पुरेर उनले आर्थिक लाभ लिने गरेको स्थानीयको आरोप छ।

जग्गा प्लटिङ व्यवसायी गुप्ता केसी र विक्रम खड्कालाई साथमा लिएर वडाध्यक्ष बिडारीले सार्वजनिक डौडाली खोला मिचेर पर्खाल लगाइरहेका छन्। जसको कारण उक्त क्षेत्रमा झनै धुलो उड्ने गरेको हो।

माटो फाल्नको लागि उक्त क्षेत्रमा दिनमा सयौं टिप्परहरु गुड्ने गर्छ। टिप्पर गुड्दा धुलोको कारण वरपरका घरहरु समेत देखिन्न। यसरी वडाध्यक्षको निरिहपनले उक्त क्षेत्रका स्थानीयले सास्ती खेप्नुपरेको हो।

जग्गा प्लटिङ गर्ने बाटोमा डोजर लगाएर ढुंगा झार्ने काममा समेत वडाध्यक्ष बिडारीको संलग्नता रहेको स्थानीयहरु बताउँछन्। जसकारण त्यहाँका बस्तीहरु नै जोखिममा परेको छ।

दवाडी भिल्लाअघि ३५ रोपनी जग्गामा समेत वडाध्यक्ष बिडारीले सेटिङमा प्लटिङ गरेको स्रोतले बतायो। उनले प्लटिङ साहू थापा र खड्कासँग मिलेर हरेक कामममा हात हाल्ने गरेको पाइएको हो।

वडासदस्य राजकुमार बोगटी।

वडाध्यक्ष बिडारीलाई नेपाली काँग्रेसबाट निर्वाचित वडासदस्य राजकुमार बोगटीको साथ छ। बिडारी र बोगटीको सेटिङमा चन्द्रागिरी नगरपालिका–१३ मा जग्गा प्लटिङको काम हुने गरेको स्थानीयहरुको दाबी छ।

वडासदस्य बोगटीले नागार्जुन नगरपालिका र चन्द्रागिरी नगरपालिकाको सिमानाको खोला शेरए खोलामा पनि विक्रम खड्कासँग मिलेर सेटिङमा प्लटिङको काम गर्ने गरेको बताइएको छ। उनले सार्वजनिक जग्गालाई बाटोमा पारी प्लटिङ गरेका हुन् ।

यसरी खुलेआम रुपमा टिप्परहरु गुड्दा ट्राफिक प्रहरी भने मौन रहेको छ। एक स्थानीयका अनुसार ट्राफिक प्रहरी, नैकाप प्रहरी र वडाध्यक्षको सेटिङमा यहाँ काम भइरहेको छ।

प्रहरीले देखे पनि नदेखेझैं गरेर ती टिप्परहरुलाई निर्वाध रुपमा चल्न दिएको छ।

हाम्रो क्षेत्र (चन्द्रागिरी–१३) मा खाली जमिन र सडककिनार फोहोर प्लास्टिकले ढाकिएका जताततै देख्न सकिने ती स्थानीयले बताए।

प्रतिक्रिया