ऋषि धमलाले बुझाए प्रेस काउन्सिलमा स्पष्टीकरण पत्र, जनतालाई छिटो समाचार दिँदा गल्ती भयाे


काठमाडौं – पत्रकार ऋषि धमलाले प्रेस काउन्सिल नेपालमा स्पष्टीकरण पत्र बुझाएका छन् । जहाजभित्र जोरजुलुम गरेको भन्दै प्रेस काउन्सिलले २४ घन्टे स्पष्टीकरण सोधेपछि उनले हिजो (बुधबार) स्पष्टीकरण पत्र बुझाएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर गत आइतबार साँझ काठमाडौँ फर्किँदा धमलाले त्रिभुवन विमानस्थलमा जहाजभित्रैबाट प्राइम टाइम्स टेलिभिजनमा लाइभ गरेका थिए ।

उक्त लाइभ प्रसारणमा जहाजका उडान कर्मचारीले रोक्न खोज्दाखोज्दै पनि धमला प्रधानमन्त्री देउवालाई खोज्दै हिँडेका थिए। सुरक्षा संवेदनशीलताका कारण कर्मचारीले रोक्न खोज्दा धमलाले पत्रकार मर्यादा विपरीत कार्य गरेको स्वअनुगमनबाट पाइएपछि धमलालाई स्पष्टीकरण सोधेको काउन्सिलले बताएको थियो ।

काउन्सिलका प्रवक्ता दीपक खनालले धमलाबाट स्पष्टीकरणको पत्र काउन्सिलमा आएको बताए । उनले अब बैठक बसेर यसबारे छलफल गरिने बताएका छन् ।

पत्रकार धमलाले पठाएको स्पष्टीकरणमाथी काउन्सिलको बैठक बसेर त्यसबारे केही दिनमा छलफल गर्ने खनाले बताए । काउन्सिलका अध्यक्षलगायतको टोली सुर्खेतमा रहेकाले काठमाडौँ फर्केपछि काउन्सिलको बैठक बस्ने उनको भनाइ छ ।

धमलाले पठाएको स्पष्टीकरण पत्रमा जनतालाई छिटो समाचार दिँदा गल्ती भएको उल्लेख गरेका छन् । उनले पत्रकार आचारसंहिताप्रति आफू प्रतिबद्ध रहेको र अबदेखि यस्ता विषयमा ध्यान दिने पनि उल्लेख गरेको स्रोतको भनाइ छ ।

 

प्रतिक्रिया