जीवन बीमा कम्पनीको पूँजी ५ अर्ब पुर्‍याउन बीमा समितिको निर्देशन


काठमाडौं –  बीमा समितिले बीमा कम्पनीहरूलाई पूँजी बढाउन निर्देशन दिएको छ । समितिको निर्देशन अनुसार २०७९ चैत भित्र जीवन बीमा कम्पनीहरूले ५ अर्ब पुर्‍याउन निर्देशन दिएको  हो । यस्तै निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउनु पर्नेछ ।

बीमा कम्पनीहरूले पनि पूँजी बढाउने आन्तरिक तयारी गरिरहेका छन् । बीमा कम्पनीहरूका अनुसार अधिकांशले बोनस र हकप्रद शेयर वितरण गरेर पूँजी बढाउने तयारी गरेका हुन् । पुराना कम्पनीहरूको तुलनामा आईपीओ निष्कासन गर्न बाँकी रहेको कम्पनीहरूलाई पूँजी बढाउन सकस देखिएको छ ।

हालसम्म पनि आइएमई लाइफ, रिलायबल लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र महालक्ष्मी लाइफले सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेका छैनन् । जसले गर्दा आईपीओ निष्कासन नगरेका कम्पनीहरूले २५७ प्रतिशत सम्मले पूँजी बढाउनु पर्ने देखिन्छ ।

बीमा समितिले यस अघिनै तोकिएको न्यनतम २ अर्ब रुपैयाँ चुक्ता पूँजी समेत पुर्याउन नसकेका पाँच जीवन बीमा कम्पनीलाई पूँजी बढाउन थप सकस देखिने भएको हो । आईपीओ निष्कासन नगरेका नयाँ कम्पनीहरू हकप्रद निष्कासन गरेर पूँजी बढाउने पक्षमा नरहेको महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको भनाई छ ।

‘हामी जस्तै आईपीओ निष्कासन नगरेका कम्पनीहरू हकप्रदबाट पूँजी बढाउने पक्षमा छैनौ । मर्जरमै गएर मात्रै पूँजी पुर्‍याउन सकिने कुरामा हामी सहमत छौं,’ उनले भने, ‘पहिलो चरणमा हामी तीन अर्ब चुक्ता पूँजी पुर्‍याउने योजनामा छौं।’

हाल कायम चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ संस्थापकहरुबाट ५० प्रतिशत पूँजी थप्न लगाएर २ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी पुर्‍याउने र त्यसपछि ९० करोड रुपैयाँको आईपीओ निष्कासन गरेर तीन अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याउने उनको भनाई छ । तीन अर्ब रुपैयाँ चुक्ता पूँजी पुगेपछि २ अर्ब पूँजी भएको कम्पनीबीच मर्जरमा गएर ५ अर्ब चुक्ता पूँजी पुर्याउने योजना छ । मेरो लगानी

प्रतिक्रिया