
जहाजभित्र सञ्चारकर्मीको अमर्यादित व्यवहार दुर्भाग्यपूर्ण : नेपाल वायुसेवा सञ्चालक संघ
काठमाडौं – जहाजभित्र सञ्चारकर्मीले गरेकाे अमर्यादित व्यवहार दुर्भाग्यपूर्ण भएको नेपाल वायुसेवा सञ्चालक संघले जनाएको छ । भीभीआईपी टोलीसहितको उडानमा सामान्य नियमको समेत पालना नगरी निषेधित कक्षमा क्यामरासहित प्रवेश गरी अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण रहेको संघको ठहर छ ।
संघले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘उठानमा यात्रुलाई अनावश्यक हैरानी हुने कार्य नगर्न चालक दले पटक पटकको अनुरोधलाई बेवास्ता गर्दै जबरजस्ती भिडियो क्लिपिङ गरी लाइभ समाचार प्रसारण गरेको भन्ने विभिन्न समाचार प्रकाशित भएकाले उडानका क्रममा देखाएको यस्ताे हर्कतले उडानका साथै सुरक्षा प्रोटोकलको समेत उलंघन भएकोले यस्ता अवाञ्छित कार्य नगर्न नगराउन हुन संघ अनुरोध गर्दछ ।’
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्कने क्रममा चढेको नेपाल एयरलाइन्सको विमानभित्रैबाट ऋषि धमलाले ‘लाइभ’ गरेका थिए । त्यसक्रममा उनले विमानका क्रु मेम्बरहरूलाई जोरजोलुम गरेको भिडिओ फेसबुक र टिकटकमा भाइरल बनेको हो । क्रु मेम्बरहरूले रोक्दारोक्दै धमला इकोनोमी क्लासबाट बिजनेस क्लासमा घुसेका छन् ।
प्रधानमन्त्री फर्केको विमान शुक्रबार राति करिब ८ बजे त्रिभुवन विमानस्थलमा ल्यान्ड भएको थियो । अवतरणलगत्तै धमलाले बुम समातेर प्राइम टिभीमा ‘प्रत्यक्ष प्रसारण’ सुरू गरेका थिए ।



कागजपत्र |
