जुम्लामा कालीमार्सी धानखेती, बीउ बेर्नामा राख्न सुरु


खलङ्गा – विश्वकै उच्च स्थानमा उत्पादन हुने अति लोकप्रिय कालीमार्सी धानखेती जुम्लामा सुरु भएको छ। यहाँका किसानले मार्सी धानको बीउ बेर्नामा राख्न थालेका छन्।

चैत मार्सी धानको बीउ राख्ने विशेष महिनाका रूपमा लिइने गरेको स्थानीयवासी कर्णजीत पाण्डेले बताए। पछिल्लो समयमा देश तथा विदेशबाट अत्यधिकरूपमा मार्सी चामलको माग दिन प्रतिदिन बढ्दै गएपछि कालीमार्सी धानखेती गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको छ।

जुम्ली किसानले कालीमार्सी धानको बीउ राख्दै चैत २० गते विशुव पर्वसमेत मनाउने गरेका छन्। जुम्लीले सो दिन कालीमार्सी धानको बीउ बेर्नामा राख्ने परम्परा भएको स्थानीय जानकार रमानन्द आचार्यले बताए।

चन्दननाथ बाबा र लछालकृति पैकलाले कालीमार्सी धानको उत्पादन गरेको दिनको सम्झनामा विशुव पर्व मनाउने चलन रहेको छ। परम्परादेखि नै बाजा बजाएर कालीमार्सी धानलाई बेर्नामा छर्ने गरिँदै आएको छ।

चैत १२ गते भिजाएर राखेको धानको बीउ २० गते बेर्नामा बीउ छर्ने धानको चक्र भएको कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले बताए। चैतमा बेर्नामा राखिएको बीउलाई जेठ र असारमा खेतमा रोप्ने गरिन्छ।

कात्तिकमा धान काटेर घर भित्र्याएपछि धानको छमहिने चक्र सकिने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। कालीमार्सी धानमा ‘ब्लास्ट’ रोगले सताउन थालेपछि अधिकांश जुम्ली किसानलाई कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको चन्दननाथ एक, तीन, लेकाली एक र तीन जातका धानका बीउको धान उत्पादन हुने गरेको छ।

प्रतिक्रिया