

प्रधानमन्त्री देउवाद्वारा वाराणसीमा वृद्धाश्रम शिलान्यास

काठमाडाैं – भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिमा धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमि पूजनसहित शिलान्यास गरेका छन् ।
नेपाल सरकारले वृद्धाश्रमका निम्ति एक करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ ।
नेपालबाट तीर्थयात्रामा त्यहाँ जानेहरूका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो । उक्त भवनमा ३५ कोठा रहनेछन् । भवन नेपाली शैलीको हुने जनाइएको छ । पुरातत्त्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ ।
यसैबिच प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आज दिवाभोजको आयोजना गरेका थिए । त्यसअघि उनीहरूबिच पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो ।

