


पूर्वराजा ज्ञानेन्द्रले गरे मेची क्राउनबाट बर्ष २०२१को स्वागत, पारस हृदयेन्द्रसँग, हिमानी कता?

झापा– पूर्वराजा ज्ञानेन्द्र शाहले झापामा बर्ष २०२१ मनाएका छन्। नयाँ बर्षको साँझ उनले धुलाबारीमा रहेको पाँचतारे होटल मेची क्राउनमा मनाएका छन्।
पूर्वराजासहित राजपरिवारका केही सदस्य मात्र होटलमा पुगेका थिए। ‘सन् २०२० को विदाई गर्दै २०२१ को स्वागतका लागि पूर्वराजा यहाँ आउनुभएको हो। उहाँसहित परिवारका केही सदस्य थिए’, होटल प्रशासनले भन्यो।
पूर्वराजा ज्ञानेन्द्रले होटल परिसरमा नै क्याम्प फायर गरी नयाँ बर्ष मनाएका हुन्। विभिन्न अवसरमा पूर्वराजा यसरी सार्वजनिक रुपमा सर्वसाधारणसँग रहेर रमाउने गरेका छन्।
राजधानीमा पनि विभिन्न लाउन्जहरूमा परिवारका साथ उनी पुग्ने गरेका थिए। सो क्रममा नेपाली राष्ट्रियताले ओतप्रोत रहेका गीतमा उनले नृत्य गरेको चर्चा चलेको थियो। यस पटक भने उनी उपत्यका बाहिर रहेकाले प्रदेश १ मा रहेको एउटै मात्र पाँचतारे होटल मेची क्राउनमा पुगेका हुन्।
मेची क्राउन यसै बर्षबाट सञ्चालनमा आएको हो। कोरोना महामारीका बीच तीन महिना अघि सञ्चालनमा आएको हो। उक्त होटलमा एसीयाकै सबैभन्दा ठूलो क्यासिनो सञ्चालक गो ड्याडी भन्ने कम्पनीले क्यासिनो सञ्चालनमा ल्याएको छ।
शुक्रबार मात्र पूर्वराजा ज्ञानेन्द्रसहित चार जना झापाका लागि पुगेका थिए। उनी दमकस्थित हिमालय टि स्टेटमा रहेको आफ्नो निवासमा रही राजनीतिक भेटघाट समेत गरेको बताइन्छ। उनका साथ सुरक्षा गार्ड सशस्त्र प्रहरीका एक जना डिएसपी, पूर्वरानी कोमल शाह र निजी सचिव सागर तिमल्सिना झापा पुगेको बताइन्छ।
पूर्वराजाको स्वागतका लागि शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतसहितका राजावादी संघ संस्थाका मानिस पुगेका थिए। राजसंस्था र हिन्दू राज्यको पक्षमा आउने बुधबार राजावादी संघसंस्थाले र्यालीको आयोजना पनि गरेका छन्।
यसैबीच, पूर्वरानी कोमलले भने हिमालय टि स्टेटमा नै नयाँ बर्ष मनाएकी छिन्। नयाँ बर्षमा पूर्वराजपरिवारका अन्य सदस्यहरूले पनि फरक–फरक ठाउँमा पुगेका छन्। पूर्वयुवराज पारस शाहले भने छोरा हृदयेन्द्रसँग मनाएका छन्। १५ पुसमा परेको पारसको जन्मदिनको बेला हृदयेन्द्र पोखरा पुगेका थिए।
उता छोरी पूर्णिका र कृतिकासहित पूर्वयुवराज्ञी हिमानी शाहले भने निर्मलनिवासमा नै नयाँ बर्षसाँझ मनाएको बताइएको छ।


