घोडेजात्राले गतिशीलता ल्याउन सकोस् : कार्यवाहक प्रधानमन्त्री खाण


काठमाडौं – चैत कृष्ण औँसीका अवसरमा मनाइने घोडेजात्राका क्रममा नेपाली सेनाले काठमाडाैंको टुडिखेलमा शुक्रबार विशेष कार्यक्रम गरेको छ । टुडिखेलस्थित सैनिक मञ्चमा सेनाले गरेको अश्वकला, मोटरसाइकल खेललगायत प्रदर्शन गर्ने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणलगायत सहभागी भए ।

प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारतको भ्रमणमा शुक्रबार नै त्यसतर्फ प्रस्थान गरेकाले कार्यवाहक प्रधानमन्त्रीका रूपमा गृहमन्त्री खाण सहभागी भए । उनले उपत्यकामा मनाइने घोडेजात्राको अवसरमा काठमाडौं उपत्यका बासीलगायत समस्त नेपालीहरूलाई सुख समृद्धिका साथै गतिशीलताको शुभकामना व्यक्त गरेका छन् ।

‘उपत्यकामा मनाइने घोडेजात्राको अवसरमा काठमाडौं उपत्यका बासीलगायत समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सुख समृद्धिका साथै गतिशीलताको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ गृहमन्त्री खाणले भनेका छन्, ‘नेपाली सेना, समस्त सुरक्षाकर्मी र राष्ट्रसेवकहरूलाई घोडेजात्रा पर्वका अवसरमा थप गतिशीलताको शुभकामना ।’ विजयउत्सवका रूपमा मनाइने घोडेजात्राले मुलुकमा समृद्धि ल्याउने कामना पनि कार्यवाहक प्रधानमन्त्री खाणले गरे ।

परापूर्व कालदेखि उपत्यकाको बस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख यातना दिने गरको र सो राक्षसलाई घोडाको टापले कुल्चिएर मारेको किम्वदन्ती अनुसार घोडेजात्रा मनाउन थालिएको थियो । त्यस्तै प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको सुरुवात हुने विश्वास अनुरुप चैत्र कृष्ण औासीमा घोडा कुदाएर नयाँ वर्षलाई स्वागत गरिने प्रचलन पनि छ । जात्राको अवसरमा आज काठमाडाैं उपत्यकामा शुक्रबार सरकारले सार्वजनिक बिदा दिएको थियो ।

प्रतिक्रिया