टी–२० क्रिकेट शृंखला : पपुवा न्युगिनीसँग हार्यो मलेसिया
काठमाडौं – त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीले मलेसियालाई पराजित गरेको छ। पपुवा न्युगिनीले मलेसियालाई ८ विकेटले हराएको हो। मलेसियाले दिएको १ सय ९७ रनको लक्ष्य पपुवा न्युगिनीले १७ दशमलव ५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९६ रन बनायो। मलेसियाका लागि सैद अजिजले सर्वाधिक ६४ रनको योगदान दिए।
उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। कप्तान अहमद फैजले ६३ रनको योगदान दिए। उनले ४३ बल खेल्ने क्रममा ५ चौका र ३ छक्का हाने। जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन तथा विरनदीप सिंह १५ बलमा एक चौकासहित १० रन बनाए।
बलिङतर्फ पपुवा न्युगिनीका काबुआ मोरेआले ४ विकेट तथा चाद सोपर र राइली हेकुरेले १/१ विकेट लिए। जवाफी ब्याटिङ गर्ने क्रममा पपुवा न्युगिनीका लागि टोनी उराले अविजित ८६ तथा कप्तान असाद भालाले अविजित ७४ रन बनाए। उराले ३४ बल खेल्दै १० छक्का र २ चौका प्रहार गरे। भालाले ५१ बलको सामना गर्दै एक छक्का र ८ चौका हाने।
बलिङतर्फ मलेसियाका फाइनल प्रवेशका लागि मुहमद वफिक र स्याज्रुल इद्रुसले १/१ विकेट लिए। मलेसियाले शनिबार नेपालसँग खेल्नेछ। नेपाल भने यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ। जारी सिरिजमा नेपालले हालसम्म खेलेको तीनवटै खेलमा जित निकालेको छ।