

बागमती प्रदेशको पुँजीगत खर्च १७ प्रतिशत मात्रै

काठमाडौं – बागमती प्रदेश सरकारको बजेट खर्च चालु आर्थिक वर्षको शुरुआती आठ महीनामा अत्यन्त न्यून देखिएको छ । आर्थिक वर्ष ०७८÷७९ को पहिलो आठ महीनामा बागमती प्रदेशले कूल बजेटको १७ दशमलव ४० प्रतिशत मात्रै खर्च गर्न सफल भएको छ । चालु आर्थिक वर्ष सकिन ४ महीनाभन्दा समय बाँकी रहँदा प्रदेश सरकारको बजेट खर्च अपेक्षित रुपमा हुन नसकेको हो ।
गत साउनदेखि चैत पहिलो सातासमम्म प्रदेश सरकारले पुँजीगततर्फ जम्मा पाँच अर्ब ५९ करोड ३३ लाख रुपैयाँ खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । यस अवधिमा प्रदेश सरकारको कुल बजेटको २५ दशमलव ६० प्रतिशत अर्थात् १४ अर्ब ७६ करोड २४ लाख रुपैयाँ खर्च भएको छ । उक्त बजेटमध्ये चालुतर्फ ३४ दशमलव ७४ प्रतिशत अर्थात् आठ अर्ब १६ करोड ९१ लाख रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले बताए ।
चालु आर्थिक वर्षको कुल ५७ अर्ब ७२ करोड नौं लाख रुपैयाँ बजेटमध्ये २६ अर्ब एक करोड ६६ लाख रुपैयाँ चालु बजेट रहेको छ । पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख चार हजार रुपैयाँ रहेको छ । प्रदेश सरकारले वित्तीय व्यवस्थापनका लागि छुट्याएको दुई अर्ब रुपैयाँमध्ये एक अर्ब रुपैयाँ खर्च गरिसकेको छ । कुल बजेटको चार प्रतिशत वित्तीय व्यवस्थापनका लागि छुट्याइएको थियो ।
यो अवधिमा प्रदेश सरकारका पुराना छ मन्त्रालयमध्ये सबैभन्दा धेरै बजेट रहेको भौतिक पुर्वाधार विकास मन्त्रालयले चार अर्ब ९३ करोड रुपैयाँ खर्च गरेको छ । यो रकम कुल बजेटको २२ प्रतिशत हो । आर्थिक मामिला मन्त्रालयले कुल बजेटको ६५ प्रतिशत खर्च गरेको छ । त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ५७ करोड १६ लाख रुपैयाँ खर्च गरेको छ । यो रकम मन्त्रालयको कुल बजेटको १५ प्रतिशत हो।
वन तथा वातावरण मन्त्रालयले कुल बजेटको १९ प्रतिशत अर्थात् ८४ करोड पाँच लाख रुपैयाँ खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रण कर्यालयको तथ्याङ्क छ । सामाजिक विकास मन्त्रालयले कुल बजेटको २२ प्रतिशत अर्थात् दुई अर्ब १५ करोड रुपैयाँ खर्च गरेको छ । यस्तै सबैभन्दा कम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कुल बजेटको सात दशमलव आठ प्रतिशत अर्थात ६ करोड ७७ लाख रुपैयाँ खर्च गरेको छ ।

