२० औँ खुला प्याराग्लाइडिङ प्रतियोगिता पोखरामा, चैत २३ देखि २५ गतेसम्म हुने


कास्की – पोखरामा यही चैत २३ देखि २५ गतेसम्म २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजना तथा नेपाल प्याराग्लाइडिङ, ह्याङग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

यस वर्ष ‘एक्युरेसी’ तर्फ मात्रै प्रतिस्पर्धा हुने नेपाल हवाई खेलकुद संस्था (ना) अध्यक्ष कृष्ण भण्डारीले आज बिहीवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। प्याराग्लाइडिङको एक्युरेसी विधातर्फ विभिन्न चार वटा इभेन्टमा महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् ।

प्रतिस्पर्धाअन्तर्गत ल्यान्डिङ ओभरअलको पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने खेलाडीले क्रमशः ५०, ३०, २० र १० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक बलराम आर्चायले जानकारी दिए । महिलातर्फ ल्यान्डिङ विधामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने खेलाडीले क्रमशः ३०, २०, १० र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी टिम एक्युरेसीमा पहिलो, दोस्रो, तेस्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै एक्युरेसी टेन्डम पुरुष अन्तर्गत पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने खेलाडीले क्रमशः ३०, २०, १० र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । एअर सो तर्फ वेस्ट एक्रोबेटिकमा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको वेस्ट कस्टुमलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा भाग लिन चैत २० गतेसम्म अनलाइनबाट नाम दर्ता गर्न सकिने प्रतियोगिताका निर्णायक योगेश भट्टराईले जानकारी दिए ।प्रतियोगिता सम्पन्न गर्न झन्डै ३० लाख रुपैयाँ खर्च लाग्ने संस्थाका प्राविधिकतर्फका उपाध्यक्ष अनिल केसीले बताउनुभयो । कोरोनाका कारण दुई वर्षदेखि यो प्रतियोगिता हुन सकेको थिएन ।

प्रतिक्रिया