नेपाललाई युक्रेनको आग्रह : रुसी पर्वतारोहीलाई हिमाल चढ्न रोकियाेस्


किभ – यसै वसन्त ऋतुमा ९ जना रुसी पर्वतारोहीलाई नेपालमा हिमाल चढ्ने अनुमति दिइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा फौज पठाएको भन्दै युक्रेनी कूटनीतिज्ञहरूले ती पर्वतारोहीहरूलाई अनुमति नदिन आग्रह गरेका थिए ।

भारतको दिल्लीस्थित युक्रेनी दूतावासले नेपाल सरकारलाई थुप्रै अन्तर्राष्ट्रिय खेलकुद महासंघहरूले रुसी खेलाडीहरूमाथि प्रतिबन्ध लगाइसकेको जानकारी दिएको थियो ।

नेपाल सकारलाई पठाइएको पत्रमा युक्रेनमा रुसी आक्रमण बन्द नहुन्जेलसम्मका लागि रुसी पर्वतारोही टोलीमाथि प्रतिबन्ध लगाउन अनुरोध गरिएको थियो । तर, नेपालका सरकारी अधिकारीहरूले आफूहरूले सरकारी नीतिनियमलाई नै पालना गरी पर्वतारोहणका लागि अनुमति जारी गरिरहेका जनाएका थिए ।

नेपालको पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले भनेका, ‘अहिलेसम्म यस सम्बन्धमा हाम्रो नीतिमा परिवर्तन आएको छैन । हामीलाई विश्वास छ, हाम्रा पहाडहरू विश्वव्यापी सम्पत्ति हुन् । त्यसैले शान्ति प्राप्तिका लागि विश्वका कुनैपनि मुलकका नागरिकले पर्वतारोहण गर्न चाहन्छन् भने कानुनसम्मत व्यवस्थाअनुसार तिनीहरूले त्यसका लागि अनुमति पाउनेछन् ।’

दिल्लीस्थित युक्रेनी दूतावासले आफूले २१ मार्चमा नै दिल्लीकै नेपाली दूतावासमा यसबारे अनुरोध गरेको जनाएको छ । तर नेपाली दूतावासका कर्मचारीहरूले यसबारे आफूहरूलाई कुनै सूचना प्राप्त नभएको बीबीसीलाई बताएका छन् ।

मेको अन्त्यसम्म वसन्त ऋतुको पर्वतारोहण सिजन मानिन्छ । एकजना रुसी पर्वतारोहीलाई ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण र अन्य आठजनालाई ६ हजार ५०० मिटर भन्दा होचा हिमाल चढ्ने अनुमति दिइएको छ ।

नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष वीर लामाले पनि यसबारे सरकारले केही उल्लेख नगरेकाले आफूहरूले चलनचल्तीको नीति अनुरूप नै निर्णय कार्यान्वयन गरेको बताएका छन् । विगतमा युक्रेनी र रुसी पर्वतारोहीहरूले नेपालका हिमालहरू चढेको इतिहास पनि छ । बीबीसीबाट

प्रतिक्रिया