


जनकपुर–जयनगरमा रेल शनिवारदेखि सञ्चालनमा आउने

काठमाडाैं – निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको जनकपुर–जयनगर रेलमार्गको चैत १९ गते शनिवार उद्घाटन हुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा रेलमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
दुवै देशका प्रधानमन्त्रीले नयाँदिल्लीबाट संयुक्तरूपमा श्रव्यदृश्यका माध्यमबाट रेल सेवाको उद्घाटन गर्न लागेका मन्त्रालयले जनाएको छ ।जनकपुरमा आयोजना हुने कार्यक्रममा भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको प्रमुख आतिथ्यता रहने रेल विभागका महानिर्देशक दीपकुमार भट्टराईले जानकारी दिए ।
रेल सञ्चालनका लागि सरकारले चैत ८ गते अध्यादेशमार्फत आवश्यक कानूनी प्रबन्ध गरेको छ । विक्रम संवत् २०७५ सालमा नै रेलमार्ग निर्माण सकिएको भए पनि कानूनी तथा प्राविधिक जटिलताका कारण लामो समयसम्म रेल सञ्चालनको मिति तय हुन सकेको थिएन । कूल ३५ किलोमिटर लामो सो रेलमार्गमा चल्ने रेलका अन्तरदेशीय प्रकृतिको ब्रोडगेज हो ।
मन्त्रालयका अनुसार २०७७ असोज पहिलो हप्ता जनकपुर आइपुगेको रेल सञ्चालन गर्नेबारेमा यसअघि ठोस निर्णय हुन सकेको थिएन । सरकारले सबै करसहित १ अर्ब ३ करोड रुपैयाँ बराबर खर्च गरेको रेल सञ्चालनमा नआउँदा रेलका लिकमा राखिएका सामान समेत चोरी भएका थिए ।
जनकपुरमा रेल आइपुगेको १७ महिनापछि सञ्चालन हुन लागेको हो । सरकारले रेलको भाडासमेत तय गरेको छ । सामान्य सिटमा यात्रा गर्नेलाई ७० रुपैयाँ र वातानुकूलित (एसी) सिटमा यात्रा गर्नेलाई ३०० रुपैयाँ बराबरको भाडा लाग्ने गरी २ प्रकारको भाडा तय भएको छ ।
रेल दुर्घटनामा परी कोही कसैको ज्यान गएको खण्डमा ७ लाख रुपैयाँसम्म राहत दिइने व्यवस्थासमेत रेल्वे अध्यादेशमा गरिएको छ । सबै प्राविधिक तयारी पूरा भएको र कर्मचारीसमेत नियुक्त भई काममा खटिइसकेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

