बोयर बोकाबाख्राबाट मनग्य आम्दानी


डोटीसाबिकको छतीवन गाविस हाल जोरायल गाउँपालिका२ बुडर रुपसकाडाका किसानले पालेका बोयर बाख्राले अहिले मनग्य आम्दानी दिन थालेको छ । बोयर बाख्रापालन गर्नका लागि स्रोत केन्द्र स्थापना गरिएपछि त्यहाँ बोयर बोका, बाख्रा बिक्रीले किसानको आम्दानी हुन थालेको छ । ग्लोबल एग्रिकल्चर एण्ड फुड सेक्युरिटी कार्यक्रमले बहुदाताको सहयोगमा नेपाल सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना, जिल्ला पशु सेवा कार्यलय सिलगढीमार्फत करीब पाँच वर्ष पहिले रुपसकाडामा बोयर बाख्रा स्रोत केन्द्र स्थापना गरिएको थियो । बोयर बाख्रा बिक्री वितरणले किसानको मनग्य आम्दानी हुन थालेको बोयर बाख्रापालक किसान दीपक आलेले बताए ।

उनले भने, ‘बोयर बाख्रा पालन गर्नुभन्दा पहिले घरखर्च धान्न पनि धौ धौ थियो, अहिले मुखले मागेको मूल्य पाएका छौँँ, हामी खुशी छौँ ।यहाँका बाख्रापालक किसानको उत्पादन र उत्पादकत्व बढाई आयआर्जनमा वृद्धि गर्दै पशुजन्य खाद्य पौष्टिक पदार्थको पहुँच र उपलब्धतामा सुधार ल्याउने उद्देश्यले स्थापित केन्द्रमा अहिले बोयर बोका तथा बाख्रा किन्नेको निकै घुइँचो लाग्ने गरेको स्थानीयवासी भरत कुँवरले बताए ।

केन्द्रमा विश्व कृषि तथा खाद्य सङ्गठनमार्फत अष्ट्रेलियाबाट आयातीत  शुद्ध नश्लकाबोयर जातका १३ प्रजनन बोका वितरण गरिएको थियो । अहिले दैनिक बोयर बोका तथा बाख्रा बिक्री हुन थालेपछि यहाँका किसान पनि निकै खुशी भएको स्थानीयवासी मीनबहादुर रावलले बताए ।

स्थानीय जातका खसीबोकाका तुलनामा बोयर जातका खसीबोकाको राम्रो उत्पादन र उत्पादकत्व भएकाले यहाँका पहाडी जिल्लामा बोयर जातको प्रजनन बोकाको माग अत्याधिक रहेको मत्स्य विकास तथा पशुपन्छी विकास प्रदेश कार्यालय दिपायल राजपुरका प्राविधिक गणेश धामीले बताए । स्थानीय बोयर पालक किसानका अनुसार बोयर जातका बोकाको बजार मूल्य जिउँदोमा रु ८०० केजी रहेको छ । आम्दानी  हुने तथा चाँडो फष्टाउने भएकाले  पछिल्लो समय यहाँका किसान प्रजनन बोयर बोकापालनमा आकर्षित हुन थालेको जोरायल गाउँपालिका२ बुडरका विजय गाहामगरले बताए ।

रुपसकाडाका बोयर बोकाले नै केही समयपछि मासुका लागि डोटी सक्षम हुने यहाँका बोयर बाख्रापालक किसानको जिकिर छ ।तत्कालीनजिल्ला पशु सेवा कार्यालय सिलगढीबाट कुल २३२  क्रस बोयर प्रजनन जातका बोका यहाँका अन्य पहाडी जिल्ला अछाम, दार्चुला र बैतडीका विभिन्न समूहमा बिक्रीवितरण गरिएको थियो । वितरण गरिएका ठाउँमध्ये डोटीको रुपसकाडामा भने यो व्यवसाय निकै फष्टाएको र अन्य ठाउँमा पनि क्रमिक रुपमा फस्टाउँदै जान थालेको जानकारी आएको मस्स्य विकास तथा पशुपन्छी विकास प्रदेश कार्यालय दिपायल राजपुरले जनाएको छ ।

(रासस)

प्रतिक्रिया