

बैंकमा राख्न र झिक्न समस्या भएकाले धेरै पैसा घरमै थन्कियो : अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले बैंकमा राख्न र झिक्न समस्या भएको कारण धेरै पैसा घरमै थन्किएको बताएका छन्। अर्थ मन्त्रालयले सोमबार दिउँसो आगामी आर्थिक बर्ष ०७९/८० का लागि नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयका लागि सुझाव लिन बैंक, वित्तीय संस्था र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गरेको थियो। उक्त छलफलमा अर्थमन्त्री शर्माले बैंकमा राख्न र झिक्न समस्या भएको कारण धेरै पैसा घरमै थन्किएको कारण तरलता अभाव देखिएको बताएका हुन्।
‘‘आफूसँग भएको पैसा बैंकमा राख्न पनि समस्या छ, झिक्न पनि समस्या छ,’’ बैंकिङ प्रणालीमा पैसा राख्ने र झिक्ने अहिलेको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘‘त्यसैले धेरै पैसा त घरमै थन्किएको मेरो अध्ययनले देखिएको छ।’’ उनले प्रणालीबाट गएको पैसा पुन: नफर्कनु चिन्ताको बिषय भएको भन्दै सबै बैंक तथा बित्तिय संस्थालाई पारदर्शी ढङ्गले गतिविधि सञ्चालन गर्न आग्रह गरे।
अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आवको बजेट निर्माणका लागि कृषि, वित्तीय संघीयता, शिक्षा, निजी क्षेत्रलगायतकासँग छलफल सकिएको र बैंक वित्तीय तथा बीमा क्षेत्रका बारेमा छलफल गरी सुझाव लिने उदेश्यले बैठक राखेको बताए। उनले बैंकर र व्यवसायी एउटै हुनु अर्थतन्त्रका लागि कति लाभदायक हो भनेर प्रश्न गरेका थिए।
‘‘बैंक र व्यवसायमा एउटै व्यक्ती वा समूह देखिन्छ। यो कतिको ठीक हो ?’’ उनले भने, ‘‘ठीक हो भने मेरो भन्नु केही छैन। मैले केही गर्न खोजेको पनि होइन। तर, यसमा केही संशोधन आवश्यक छ भने कसो गर्दा ठीक हुन्छ भन्ने बारेमा मलाई सुझाव दिनुहोला।’’

