वित्तीय क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकले नेपाललाई १५ करोड डलर ऋण दिने


काठमाडौं – विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर ऋण दिने भएको छ ।  बैंकले नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणका थप १५ करोड अमेरिकी डलर अर्थात करिब १८ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको हो ।

नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधान विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच पुर्‍याई हरित, लचिलो र समावेशी विकास निम्ति ‘वृद्धिको लागि वित्त’ शीर्षकमा सो विकास नीति ऋण स्वीकृत गरेको बैंकले जानकारी दिएको छ ।

विश्व बैंककातर्फबाट नेपाल, मालदिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले  यो परियोजनाले नेपालको वित्तीय क्षेत्र बलियो बनाएर हरित, लचिलो र समावेशी पुनरुत्थान र वृद्धि मार्गमा योगदान पुर्‍याउने दाबी गरेका छन्‌ ।  वित्तीय क्षेत्र सुदृढीकरणमार्फत् यो परियोजनाले नेपाली अर्थतन्त्रको हरित, उत्थानशील र समावेशी विस्तार साथै गरिब र जोखिममा रहेका समुदायलाई लाभ प्रदान  गर्ने बताए ।

कोभिड–१९ प्रभावको असर न्यूनीकरणका लागि बैंकिङ क्षेत्रको उन्नत सुपरिवेक्षणमार्फत् वित्तीय स्थायित्वमा आउन सक्ने जोखिम सम्बोधन गर्नु यो परियोजनाको उद्देश्य हो । यसले पुँजी बजार, बीमा तथा विपद् जोखिममा लगानीका क्षेत्रमा वित्तीय औजार/उपकरण विकास गर्न मद्दत गर्नेछ ।

यसले तरलता तथा समावेशीतामा जोड दिदैं बाह्य व्यवसायिक ऋण, वित्तीय डिजिटलीकरण तथा महिलाका लागि वित्तीय साक्षरतामा जोड दिएको छ । निजी क्षेत्रले नेतृत्व गर्ने आर्थिक विस्तारमा सहयोग गर्न वित्तीय क्षेत्रको सञ्चालनमा यस परियोजनाले सहयोग गर्ने राष्ट्रिय निर्देशक जर्भोसले उल्लेख गरेका छन् ।

यो परियोजनाले जलवायुका एजेन्डा, जलवायु लगानी उत्थानशीलता, बीमा र पुँजीबजारका नीतिगत उपाय पनि अंगीकार गर्नेछ । यसले नेपालमा हरित ऋण सिद्धान्त अनुसरण गराउन मार्ग प्रशस्त गर्ने तथा जलवायु परिवर्तन अनुकुलन र न्यूनीकरणका लागि पुँजीबजारका उपकरण प्रयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया