प्रचण्ड धृतराष्ट्र, माधव नेपाल प्रचण्डको मामूली कार्यकर्ताः प्रधानमन्त्री ओली


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धृतराष्ट्रको व्यवाहार भएको व्यक्तिका रुपमा चित्रण गरेका छन्। उनले प्रचण्ड समूहका अर्का अध्यक्ष माधवकुमार नेपाललाई भने प्रचण्डको मामूली कार्यकर्ता मात्र भएको बताएका छन्।

बुधबार आफू पक्षका सुदूरपश्चिमस्तरीय भेलालाई राजधानीमा सम्बोधन गर्दै आफूले जहिले पनि मित्रताको अँगालो मारे पनि प्रचण्डलेचाहिँ धृतराष्ट्र शैलीको अँगालो मार्ने नियत राखेको व्याख्या गरे।

ओलीले आफ्नो मृत्युको कल्पना गरेको समेत उल्लेख गर्दै भने,‘शत्रुलाई पनि मरोस् भनिन्न, उहाँहरूको नियत त त्यसै नै थाहा भयो नि। कस्तो संस्कार र चाहना रहेछ।’

प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभा पुनःस्थापना नहुने दाबी गरे। संविधानसम्मत हिसाबले नै प्रतिनिधि सभा विघटन भएको तर्क दिँदै उनले भने,‘विघटन हुँदा म ६४ प्रतिशतको बहुमतको प्रधानमन्त्रीले सिफारिस गरेको थिएँ, ३६ प्रतिशतले त सरकार बन्ने विकल्प हुने थिएन।’

उनले प्रचण्ड र नेपालको आलोचनाका लागि केही समय खर्चिएका थिए। त्यसबाहेक आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा भएका काममा केही पनि विकास नभएको भन्दै दोस्रो कार्यकालमा आएपछि आफूले ति कामलाई अगाडि बढाइएको दाबी गरे।

उनले प्रचण्ड–नेपाल समूहलाई व्यंग्य गर्दै भने,‘चुनाव घोषणा भएको छ, दुई चार सिट जित्नुस्। चुनावमा सबै कुरा थाहा हुन्छ।’

प्रतिक्रिया