

मुद्दति निक्षेपमा करिब २ अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाडाैँ- नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको करिब २ अर्ब रुपैयाँ वाणिज्य बैंक,विकास बैंक र फाइनान्स कम्पनीको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रिय बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ५४ करोड ६२ लाख, विकास बैंकहरुमा २८ करोड ९८ लाख र फाइनान्स कम्पनीहरुमा ९ करोड ६६ लाख गरी कुल १ अर्ब ९३ करोड २६ लाख रुपैयाँ मुद्दति निक्षेपमा राख्न लागेको हो।
केन्द्रिय बैंकले उक्त निक्षेप २०७९ बैशाख २ गतेदेखि २०८० बैशाख १ गतेसम्म ३६५ दिन अवधिको लागि राख्न लागेको हो। उक्त निक्षेप लिन चाहाने बैंक तथा वित्तीय संस्थाहरुले चैत १७ गतेसम्ममा ब्याजदर प्रस्ताव पेश गरिसक्नुपर्ने छ।
राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने छ। त्यसैगरी, निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने छ।
त्यसैगरी, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने,शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने,समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु तोकिएको छ।

