
महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति गर्न माग
काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिकाले वडा नं ७ मा रहेको महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति गर्न माग गरेको छ ।
नगरपालिकाको एक लाख ३३ हजार जनसङ्ख्यामध्ये आधा जनसङ्ख्या रहेको वडा नं ७, ८ र ९ को शान्ति सुरक्षा हेर्ने प्रभागमा जनशक्ति कम हुँदा शान्ति सुरक्षामा प्रभाव परेको भन्दै नगर प्रमुख कृष्णहरि थापाले गृह मन्त्रालयलाई पत्र लेख्दै यस्तो माग गरेका हुन् । पत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा जनशक्ति बढाउन माग गरिएको छ ।
घना र अव्यवस्थित बस्ती भएकाले सीमित जनशक्तिले गस्तीसमेत गर्न नसक्दा शान्ति सुरक्षामा समस्या भएको स्थानीयवासी एवं समाजसेवी प्रकाशजङ्ग रायमाझीले बताए ।
पत्र बुझ्नुहुँदै गृहसचिव टेकनारायण पाण्डेले अविलम्ब जनशक्ति थप गरी शान्ति सुरक्षा कायम गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए । रायमाझीको नेतृत्वमा यस क्षेत्रमा शान्ति सुव्यवस्था कायम गराउने उद्देश्यले प्रहरी प्रभाग स्थापना भएको थियो ।
यस स्थलमा प्राचीन सम्पदाका रूपमा नागेश्वर मन्दिरको स्थापना भएपछि त्यसको सुरक्षाका लागि पुरातत्व विभागको समेत समन्वयमा प्रहरी प्रभाग स्थापना भएको हो । मन्दिरमा सोमबार, शनिबार एवं विभिन्न पर्वका अवसरमा भक्तजनको भीड लाग्ने गर्छ ।



कागजपत्र |
