‘खतरा’ लेखेको प्रेसरकुकर भित्र चार तोला बराबरका सुनका गहना भेटिएपछि………


काठमाडौं- कैलालीको गोदावरी नगरपालिका–१, बनखेतस्थित नवीन साहुको घरअगाडि खतरा लेखेको प्रेसरकुकरमा सुनका गहना भेटिएका छन् । घरअगाडि खतरा लेखेको प्रेसरकुकर देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले बम हुन सक्ने आशंकामा सेनालाई खबर गरेको थियो ।

केही समयपछि सेनाको टोली घटनास्थलमा पुगेर डिस्पोज गर्दा प्रेसरकुकरभित्र विस्फोटक पदार्थ नभई सुनका गहना भेटिएकोे हो । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी नवराज पोखरेलले भने, “बम सोचेको त चार तोला बराबरको सुनका गहना भेटियो । हामी पनि अचम्ममा  पर्‍यौँ। घटनाबारे थप अनुसन्धान जारी छ ।”

सुनसँगै कुकरमा एक नोट पनि थियो । जहाँ लेखिएको थियो, “आफूलाई ठूलो नसम्झिनू । घमण्ड नगर्नू । सबैसँग मिलेर बस्नू ।” प्रहरीका अनुसार प्रेसरकुकरभित्र भेटिएका सुनका गहना नवीन साहकै परिवारको रहेको खुलेको छ । गएको मंसिर १४ गते साहको घरबाट १० तोला सुनका गहना चोरी भएको थियो ।

त्यसबारे प्रहरीमा उजुरी पनि दिइएको थियो । डीएसपी पोखरेलका अनुसार सुन चोरी प्रकरणमा प्रहरीले केही व्यक्तिलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको थियो ।

चोरले आफ्नो पोल खुल्ने डरले गहना फिर्ता गर्न प्रेसरकुकर बमको बहाना बनाएको हुन सक्ने प्रहरीको आशंका छ । साहु परिवारले सुन आफ्नो भएको सनाखत गरेको छ । अझै केही सुन हराइरहेको र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पोखरेलले बताए ।

प्रतिक्रिया