चुनावी तालमेलकाे लागि गठबन्धनले कस्ताे माेडालिटी बनाउला?


काठमाडौं – सत्ता गठबन्धन आबद्ध दलहरू स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा घनीभूत छलफलमा जुटेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा गठबन्धन आबद्ध दलले स्थानीय प्रभाव हेरेर चुनावी तालमेल गर्ने विषयमा छलफल अघि बढाउँदै मोडालिटी तय गर्न अघि बढेका हुन् ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका शीर्ष तहका नेताबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चुनावी तालमेल’ बारे छलफल भएको थियो । सो छलफलमा तालमेलको मोडालिटीका विषयमा पनि छलफल भएको छ । त्यस्तो मोडालिटी तयार गर्न संयन्त्र बनाउने विषयमा गठबन्धन आबद्ध शीर्ष नेता सहमत छन् ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । जसपा अध्यक्ष उपेन्द्र यादव भने काठमाडौंबाहिर भएकाले बैठकमा सहभागी भएनन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालले ६ महानगरपालिका र ११ उपमहानगरपालिका तथा नगरपालिकाहरूमा गठबन्धनले तालमेलको निर्णय गर्न ढिला गर्न नहुनेमा जोड दिएका थिए ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले भने पार्टीमा छलफल गरेर तालमेल’काे निर्णय लिने भनेका थिए । उनले महानगर, उपमहानगर र नगरपालिकामा केन्द्रमा छलफल गर्ने तीबाहेकका स्थानीय तहमा दलहरूको अवस्था हेरेर तालमेलमा अघि बढ्न सकिने बताएका थिए ।

सोमबार राति कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमासमेत कांग्रेसका शीर्ष नेताहरू स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको थियो । सो छलफलमा आगामी सबै तहका निर्वाचनमा गठबन्धन आबद्ध दलहरूबीच तालमेल गरेर जाने विषयमा छलफल भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

कांग्रेसले चुनावी तालमेल’मा ठोस निर्णय भने ११ चैतमा बस्ने केन्द्रीय समिति बैठकमार्फत गर्ने बताइएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलको मोडालिटी’बारे छलफल अघि बढेको बताए । उनले आवश्यकता हेरेर गठबन्धनका बीचमा स्थानीय तह निर्वाचनमा तालमेल हुने जानकारी दिए ।

‘सत्ता गठबन्धन आबद्ध दलहरूबीचमा स्थानीय तह निर्वाचनमा तालमेलको सम्भावना बढ्यो, कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा आवश्यकता हेरेर निर्णय हुन्छ, त्यसको मोडालिटी’मा छलफल हुँदै छ’ जसपा अध्यक्ष यादवले भने ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलेसमेत स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल हुने जानकारी दिए । उनले कसरी र कुन मोडलमा गठबन्धन आबद्ध दलबीच चुनावी तालमेल हुने भन्ने विषयमा खाका बन्दै गरेको बताएका हुन् ।

‘स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल हुन्छ, कसरी र कुन मोडलमा गर्ने भन्ने विषयमा गठबन्धनले पनि खाका बनाउँछ, कांग्रेसले पनि केन्द्रीय समितिमा छलफल गर्छ,’ कांग्रेस प्रवक्ता महतले भने ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ११ चैतका लागि कांग्रेस केन्द्रीय समिति बैठक बोलाइएको र बैठकका लागि तीन एजेन्डा तय गरिएको जानकारी दिए ।

उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको तयारी तथा स्थानीय तह निर्वाचनको एकमहिने अभियानको प्रारम्भिक समीक्षा, निर्वाचनका लागि उम्मेदवार छान्न संसदीय समिति गठन र तालमेलसहितका विविध एजेन्डा तय गरिएको हो ।

प्रतिक्रिया