

कच्चा तेलको मूल्यमा गिरावट

काठमाडौं – रुस–युक्रेन युद्धका कारण आकासिएको कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । ब्रेन्ट आयलको भाउ मार्चको दोस्रो साता प्रतिब्यारेल १३० डलर नाघेकोमा अहिले ठूलो गिरावट आएर प्रति ब्यारेल १०० डलरमा झरेको छ ।
२३ फागुनमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० डलर पुगेको थियो । ट्रेन्डिङ इकोनोमीकाअनुसार यो मूल्य १४ वर्षयताकै उच्च थियो । २३ फागुनको तुलनामा कच्चा तेलको प्रतिब्यारेल मूल्य ३० डलरले घटेको हो ।
युक्रेनमा रुसले युद्ध घोषणा गरेपछि कच्चा तेलको मूल्य बढ्न सुरु भएको थियो । व्यापारीहरुले रुसी तेललाई प्रतिबन्ध लगाएका कारण तेलको मूल्य प्रतिब्यारेल १८५ हुँदै २०० डलरसम्म पुग्न सक्ने विश्लेषकहरुले चेतावनी दिएका थिए। यसले मुद्रास्फीति दर बढ्नुका साथै विश्व अर्थतन्त्रमा संकुचन पैदा गर्ने अनुमान गरिएको थियो।
यसबीच साउदी अरब र युनाइटेड अरब इमिरेट्स (यूएई) ले तेलको उत्पादन बढाउन सक्ने आशाले केही राहात दिएको छ। जसका कारण ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल १०० डलरमा झरेको छ। कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण भारतीय बजारमा पेट्रोल–डिजेलको मूल्य बढ्ने सम्भावना धेरै हदसम्म हटेको छ ।
यस्तै चीनमा नयाँ कोरोनाभाइरसका कारण मुख्य सहरहरुमा प्रतिबन्ध लगाइएका कारण तेलको मागमा कमी आउने भएकाले बजारमा दबाब कम पर्ने जनाइएको छ।
यद्यपि विश्लेषकहरुले खतरा टरिनकसेको चेतावनी दिएका छन्। अहिले तेलको बिक्री उत्पादन मूल्यभन्दा धेरै नै माथि भइरहेको छ। त्यस्तै अनिश्चिनताका कारण तेलको मूल्यमा तीव्र उतारचढाव हुन सक्ने देखिन्छ।

