

वाणिज्य बैंकहरुमा २२ अर्ब निक्षेप थपियो, १७ अर्ब कर्जा लगानी

काठमाडाैं – वाणिज्य बैंकहरुमा फागुन महिनामा २२ अर्ब निक्षेप थपिएको छ । यस्तै उक्त महिनामा बैंकहरुले थप १७ अर्ब कर्जा विस्तार गरेका छन् । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार फागुन महिना कूल निक्षेप बढेर ४३ खर्ब ३३ अर्ब पुगेको छ । माघ मसान्तसम्म भने उक्त कूल निक्षेप ४३ खर्ब ११ अर्ब थियो ।
त्यस्तै फागुन महिनामा कूल कर्जा लगानी १७ अर्बले बढेर ४१ खर्ब ७२ अर्ब पुगेको छ । माघ मसान्तसम्म भने उक्त लगानी ४१ खर्ब ५५ अर्ब रहेको बैंकर्स संघको तथ्याङ्कमा उल्लेख छ । बैंकहरुमा निक्षेप थपिने क्रमले सुस्ताएपछि बैंकहरुले कर्जा कर्जा लगानीमा नियन्त्रण गर्न थालेका छन् । यसअघि बैंकहरुले निक्षेप संकलन भन्दा अधिक कर्जा लगानी गर्दै आएका थिए ।
विगतका महिनामा निक्षेप नथपिए पनि कर्जा लगानीलाई निरन्तरता दिँदै आएका बैंकहरुले फागुनमा कर्जा लगानीमा केही नियन्त्रण गरेका हुन । जसले गर्दा फागुनको अन्तिम सातामा ७ अर्ब निक्षेप थपिदा ३ अर्ब मात्र कर्जा लगानी गरेका छन ।
नेपाल राष्ट्र बैंकले आयातमा कडाई गरेयता बैंकहरुले विदेशी मुद्राको कर्जा नियन्त्रण गर्दा फागुन लागेयता विदेशी मुद्राको कर्जा निरन्तर घटिरहेको छ । फागुनको अन्तिम साता वाणिज्य बैंकहरुमा विदेशी मुद्राको निक्षेप एक अर्ब निक्षेप थपिएको छ भने कर्जा लगानी गरेका छैनन् ।

