जनकपुर–जयनगर रेल महिनाको १५ दिनमात्रै चल्ने


काठमाडौँ – एक महिनादेखि जयनगर–जनकपुर नियमित चलिरहेको रेल अब महिनामा १५ दिन मात्र चल्ने भएको छ । एक महिनादेखि यात्रुबिना नियमित सञ्चालित रेल होलीपछि एक दिन बिराएर महिनाको १५ दिन मात्र चलाइने नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।

उनले ‘ड्राई रन’ सञ्चालन सफल भए पनि उद्घाटन मिति भने अझै टुङ्गो लाग्न नसकेको बताए । रेल सञ्चालनका लागि कम्पनीका तर्फबाट सम्पूर्ण तयारी भए पनि कानुन अभाव भएका कारण यात्रुसहितको रेल सञ्चालन हुन नसकेको महाप्रबन्धक झाले जानकारी दिए।

उनले प्राविधिक रूपमा सबै तयारी भइसकेको छ, कर्मचारी पनि नियुक्ति भएर काममा खटिसकेका छन्, भाडा दर पनि निर्धारण भइसकेको छ । तर कानुन अभावमा औपचारिक रूपमा रेल सञ्चालन गर्न नसकेको बताए ।

प्रबन्धक झाका अनुसार रेल सञ्चालन गर्न अहिले नेपालका ५८ जना र भारतका १६ जना कर्मचारी नियमित खटिरहेका छन् । उनीहरूलाई अहिलेसम्म पारिश्रमिक उपलब्ध नगराएका कारण महिनामा कति खर्च भइरहेको छ भन्ने अनुमान लगाउन सकिएको छैन ।

रेल सञ्चालनमा भने महिनामा २५ सय लिटर इन्धन खर्च भएको उनले जानकारी दिए। विभागले फागुन दोस्रो साता दुवै देशका प्रधानमन्त्रीबाट उद्घाटन गराउने तयारी गरे पनि कानुन अभावमा रेल सञ्चालनमा ढिलाइ भएको भन्दै अब कुनै उपाय अपनाएर भए पनि रेल सञ्चालनमा ल्याउनुपर्ने महाप्रबन्धक झाको भनाइ छ ।

प्रतिक्रिया