केपी ओलीको आयु पुग्योः माधव नेपाल


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल प्रचण्ड समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली शासनको आयु पुगेको उद्घोष गरेका छन्।

मंगलबार आफ्नो समूहले राजधानीमा प्रतिनिधि सभा विघटनविरुद्ध गरेको विरोध सभालाई सम्बोधनका क्रममा नेपालले ओली गणतन्त्रविरोधी भएको आरोप लगाए। ओलीले गणतन्त्रको आन्दोलन चलिरहेका बेला ‘बयलगाडा चढेर वासिङटन पुगिँदैन’ भनेको उल्लेख गर्दै नेपालले भने,‘सबै क्षेत्रका मानिसले ओलीको कदम संविधानविरोधी भएको आफूलाई बताएका थिए।’

ओलीलाई पार्टीका कुनै पनि अनुशासन पालना गर्नुपर्ने आचरण नभएको बताउँदै नेपालले भने,‘संविधान र लोकतन्त्रको रक्षाका लागि हामी अहिले सडकमा आउनु परेको हो।’

उनले अझै पनि ओलीलाई केन्द्रीय कमिटीबाट नहटाएको पनि बताए। अझै पनि पश्चाताप गरेर फर्किने हो भने सबैलाई विर्सिएर टेबुलमा बसेर छलफल गर्न तयार रहेको बताएका उनले भने,‘नगरे भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन।’

प्रतिक्रिया