विदेशी लगानी ८०.६ प्रतिशतले बढ्यो, पुँजीगत ट्रान्सफर भने १९ प्रतिशतले कमी


काठमाडौं – चालु आवको ७ महिनामा विदेशी लगानी ८०.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो ७ महिनाको वित्तीय विवरण अनुसार  चालु आवको माघ महिनासम्मा कुल १६ अर्ब २९ करोड रुपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । गत आवको माघ महिनामा ९ अर्ब २ करोड रुपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी रहेको थियो ।

गत आर्थिक वर्षभर विदेशी लगानी उच्च दरले घटेको थियो । यसकारण गत वर्षको तुलनामा आधार नै कम भएकाले यो वर्ष विदेशी लगानी उच्च दरले बढेको देखिएको जानकारहरू बताउँछन् । नयाँ विदेशी लगानी आउन नसक्नु, पुराना प्रतिबद्धताअनुसार मात्र विदेशी लगानी आउनुलगायतले पनि उल्लिखित तथ्य पुष्टि हुने उनीहरूको तर्क छ । कोभिडका कारण गत वर्ष विदेशी लगानीको अवस्था निकै दयनीय थियो । त्यस्तो अवस्थासँग तुलना गर्दा गत माघसम्म प्रतिशतमा विदेशी लगानी धेरैले बढेको देखिएको हो

नेपाल राष्ट्र बैंकको  विवरण अनुसार चालु आवमा पुँजीगत ट्रान्सफर भने १९.४ प्रतिशतले कमी आए ६ अर्ब ३१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आवको सोहीअवधिमा यस्तो पुँजीगत ट्रान्सफर ७ अर्ब करोड रुपैयाँ थियो । समीक्षा अवधिमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब ८ करोड रुपैयाँ एक्सटेन्डेड क्रेडिट फेसिलिटी प्राप्त भएको छ ।

 

प्रतिक्रिया