अब बामदेवको गठजोड, नयाँ दल कि पुरानै एमाले!


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले कानुनसम्मत पार्टी बिभाजन नहुने तर्क अगाडि सारेका छन्। तर नेकपा विभाजनको अन्तिम अवस्थामा छ।

निर्वाचन आयोगले दल विभाजनसम्बन्धी निरुपणको काम थालेको छ तर कम्तिमा २ महिनासम्म समय लाग्ने बताइएको छ। यो दुई महिना सरकारले चुनावी तयारी गर्नेछ, जसको काम आयोगले थालिसकेको छ।

नेकपाको विभाजनसम्म पुग्ने विवादमा तटस्थ देखिएका छन्, गौतम। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौतम आफूहरूसँगै रहेको जिकीर गरेका छन्। तर गौतमको रणनीति भने अर्को बनिसकेको बताइन्छ।

नेकपा विभाजनमा असन्तुष्ट रहेका केही प्रभावशाली नेतासहित नयाँ पुस्तालाई समेटेर उनी नयाँ दल दर्ता गर्ने या आयोगमा रहेको पुरानै दलमार्फत राजनीति गर्ने भन्ने मुडमा पुगेको बताइन्छ। ‘पार्टी विभाजन रोक्ने अभियानमा गौतम लाग्नुभएको छ। सकभर त्यसै गर्ने र नभए कुनै पनि समूहमा नजाने निर्णय त गरिसक्नुभएको छ’, उनीनिकट स्रोतले भन्यो।

चिनियाँ कम्युनिस्ट पार्टी नेकपा विभाजन रोक्नका लागि सक्रिय रहेको छ। त्यो सम्भावना नभए चुनावमा जानका लागि पनि सबै पक्षलाई उसको आग्रह पनि थियो। अन्तिममा गौतम पनि चुनावी मैदानमा नै उत्रिन सक्ने अनुमान गरिएको छ।

त्यसका लागि उनीसँग तत्काल सहमत छन् पूर्वमाओवादी नेता हरिबोल गजुरेल र दिनानाथ शर्मा। यो समूहलाई बोकेर उनी चुनावी माहौल बने नयाँ दल दर्ता वा निर्वाचन आयोगमा रहेको नेकपा एमालेमार्फत खुला राजनीतिमा आउने सम्भावना छ। ‘आयोगले निरुपण गर्ने क्रममा आधिकारिकताका हिसाबले नेकपा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिन सक्ने निर्णयमा पुग्न सक्छ’, स्रोतले भन्यो,‘यस्तो नजिर त तत्कालिन राप्रपा विभाजनका क्रममा कमल थापाले नपाएको पनि छ।’

त्यसो त निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले पनि सर्वोच्च अदालतको र विगतका नजिरलाई हेरेर निर्णय गर्ने बताइसकेका छन्। यसको अर्थ, प्रचण्ड– माधव नेपालहरूसँग थापाकै नियती बन्न सक्ने स्वभाविक अनुमान गर्न सकिन्छ।

यस अवस्थामा नेपाली कांग्रेस पनि चुनावी मैदानमा जाने निश्चित छ। सभापति शेरबहादुर देउवा मात्र होइन, महामन्त्री शशांक कोइरालाले समेत चुनावको तयारी गर्न कार्यकर्तालाई भनिसकेका छन्।

गौतमले नेकपा मिलाउन नसकेको खण्डमा र नयाँ दल दर्तामा कमजोरी भए एमालेबाटै मैदानमा जाने र कुनै एलायन्स तयार पार्ने बताइन्छ।

प्रतिक्रिया