अस्पतालमा जन्मिएका बच्चाको विवरण अब सीधै पञ्जीकरण विभागमा


काठमाडौं – राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले अस्पतालमा जन्मिएका बच्चाको विवरण सिधै विभागमा लिने प्रक्रिया अगाडि बढाएको छ ।

विभागकी निर्देशक विनीता भट्टराईले अस्पतालमा बच्चा जन्मिएको विवरण फारम अस्पतालबाटै भरेर विभाग आउने व्यवस्था मिलाइएको जानकारी दिइन् । केही समयमै यो व्यवस्था सुरु हुने उनले बताइन् ।

यसो गर्दा कति बच्चा कहिले जन्मिए भन्ने यकिन विवरण आउने र जन्म मिति पनि वास्तविक हुने विभागले विश्वास लिएको छ ।

आज (मङ्गलवार) काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागकी निर्देशक विनीता भट्टराईले भनिन्, ‘जन्म दर्ताको समस्या धेरै भयो भन्ने आउने गरेको छ । यसलाई चिर्न हामीले सीधै अस्पतालबाट फारम भरेर विभाग ल्याउन लागिएको हो ।’

तर, घरमै जन्मिएको बच्चाको सन्दर्भमा भने स्वयंले नै जन्म दर्ता नगराउँदासम्म राज्यको जानकारीमा नआउने उनले बताइन् ।

बच्चा जन्मिएको ३५ दिनभित्र जन्म दर्ता गर्नुपर्ने व्यवस्था छ । ३५ दिन भन्दा ढिलो भए विलम्ब शुल्क तिर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया