आठ महिनामा २० प्रतिशत मात्रै पुँजीगत खर्च, राजस्व संकलन भने ५९ प्रतिशत


काठमाडौं – आर्थिक वर्ष सकिन थोरै मात्र समय बाँकी रहे पनि सरकारको पुँजीगत खर्च भने अत्यान्तै न्यून रहेको छ । चालु आर्थिक वर्षको ८ महिनामा सरकारले २० प्रतिशत बराबर मात्रै पुँजीगत खर्च गरेको छ । फागुन २९ सम्ममा २० दशमलव १६ प्रतिशत बराबर मात्रै विकास खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ ।

चालू आर्थिक वर्षमा कुल विकास बजेट ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ खर्च गर्ने सरकारी लक्ष्य थियो । तर, फागुन मसान्तसम्म ७६ अर्ब २२ करोड मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ ।

यो वर्ष पनि असारमा नै ठूलो रकम विकासका लागि भन्दै खर्च हुने दोहोरिने सम्भावना बढेको छ । कोरोना भाइरसको महामारी साम्य भएर आर्थिक गतिविधि बढेको र स्थानिय तहको निर्वाचनबारे निर्णय भइसक्दा पनि सरकार पुँजीगत खर्चको दर बढाउन सकेको छैन ।

यही अवधिमा सरकारले गरेको कुल बजेट खर्च भने ४१ शमलव २१ प्रतिशत बराबर छ । कुल १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ बराबरको वार्षिक बजेट रहेकामा फागुन मसान्तसम्ममा ६ खर्ब ७२ अर्ब ९० करोड रुपैयाँ बराबर खर्च भएको देखिएको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षको सो अवधिमा चालू तर्फको खर्च ५० प्रतिशत नाघेको छ ।

कर्मचारीको तलब, भत्ता तथा कार्यालय सञ्चालन खर्चका रुपमा लिइने चालूतर्फको खर्च फागुन मसान्तसम्म ५ खर्ब ३८ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको छ । उक्त खर्च चालूतर्फको कुल बजेटको ५० दशमलव ५४ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । चालू आर्थिक वर्षमा सरकारले चालूतर्फको बजेट १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजना गरेको थियो ।

त्यस्तै वित्तीय व्यवस्थातर्फ कुल विनियोजित बजेटको ३१ द्यशमलव ३५ प्रतिशत बजेट खर्च भएको छ । यस शीर्षकमा १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ बराबर विनियोजन भएकामा ५९ अर्ब ३९ करोड रुपैयाँ बराबर खर्च भएको देखिएको हो ।

यही अवधिमा सरकारको राजस्व संकलन भने वार्षिक लक्ष्यको ५९ दशमलव ७ प्रतिशत बराबर देखिएको छ । कुल राजस्व संकलन लक्ष्य ११ खर्ब ८० अर्ब ६० करोड ४ लाख रुपैयाँ रहेकोमा फागुन मसान्तसम्म ६ खर्ब ८४ अर्ब ६९ करोड ९४ लाख रुपैयाँ राजस्व संकलन गरेको महालेखाको विवरणमा उल्लेख छ ।

राजस्व संकलनमा सरकारले करतर्फ १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो । फागुन मसान्तसम्म ६ खर्ब २७ अर्ब ९० करोड ४६ लाख रुपैयाँ संकलन गरेको महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ । करतर्फको उक्त संकलन कुल लक्ष्यको ५८ दशमलव ७९ प्रतिशत हो ।

त्यस्तै गैरकरतर्फ वर्षिक राजस्व संकलन लक्ष्य १ खर्ब १२ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ रहेको थियो । फागुन मसान्तसम्म ५६ अर्ब ७९ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया