आयोगले थाल्यो निर्वाचन कार्यतालिका सम्बन्धी काम


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर निर्वाचनको मिति घोषणा गरेअनुरुप निर्वाचन आयोगले निर्वाचनको तयारी गरेको छ । प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले भने प्रारम्भिक तयारी अगाडि बढाएको हो ।

निर्वाचनका सम्बन्धमा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा नै रहेको मुद्दाको फैसलाले निर्धारण गर्नेछ तर आयोगले निर्वाचनको तयारी स्वरुप कार्य अगाडि बढाएको छ ।

आयोगले पहिलो चरणमा मतदाता नामावली अद्यावधी गर्ने कार्य सुरु गरेको जनाइएको छ । साथै आयोगले निर्वाचनका कार्यतालिका समेत तयार पार्ने काम गरिरहेको छ ।

त्यसैगरी निर्वाचन गराउनका लागि आवश्यक पर्ने सामग्रीहरुको बारेमा समेत तयारी गरिएको छ । अहिले कति सामग्री छ, कति खरिद गर्नुपर्ने हो र कति सहयोग माग्ने भन्ने सम्बन्धमा पनि मूल्याङकन भइरहेको छ ।

त्यसैगरी निर्वाचनका लागि आवश्यक बजेटका सम्बन्धमा पनि गृहकार्य भइरहेको छ । यस पटक निर्वाचनका लागि भने खासै नयाँ कानुन नचाहिने र पुराना कानुनले नै निर्वाचन गराउन सकिने आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया