ओलीविरुद्ध आन्दोलनमा प्रचण्डले चीनको हैन भारतको नैतिक समर्थन खोज्नुको कारण


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुला रुपमा नै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनविरुद्धको आन्दोलनमा आफूहरूलाई भारतको नैतिक समर्थन नभएको गुनासो गरेका छन्।

यस्तै, पश्चिमा मुलुक अमेरिका, युरोपियन युनियनका मुलुकको पनि नैतिक समर्थन अहिलेसम्म नआउनुमा उनले अचम्म मानेका छन्। विशेषगरी भारतले नै समर्थन गर्नुपर्ने उनको जोड थियो। यस्तो धारणा उनले कान्तिपुर टेलिभिजनलाई दिएको अन्तरवार्ताका क्रममा खुलाएका छन्।

तर प्रचण्ड भारतलगायतको नैतिक समर्थन किन चहान्छन्? यसमा उनले संसदीय व्यवस्थाका सबैभन्दा ठूलो मुलुक भारत र पश्चिमा पनि यहि व्यवस्थाका हिमायती भएकाले ओलीको कदमलाई गलत भन्नुपर्ने प्रचण्डको भनाई थियो।

‘प्रतिनिधि सभा विघटन भनेको सानो कुरा होइन, संसदीय व्यवस्था नै खारेज गर्ने निरङ्कुश प्रवित्ति हो, यस्तो अवस्थामा भारत, अमेरिका, युरोपियन मुलुकहरूले एउटा विज्ञप्तिसम्म ननिकाल्दा म छक्क परेको छु’, प्रचण्डले भनेका थिए।

तर उनको यो भनाईलाई आफैंले पनि विरोधाभाष तर्कमा स्वीकारोक्ति गरेका छन्। सदन विघटनको परोक्ष कारण अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन सम्झौता पनि भएको उनले स्वीकार गरेका छन्। जुन अमेरिकी सरकारको इन्डोप्यासिफिक रणनीतिअनुसार ल्याएको बताइन्छ।

उनले अन्तरवार्ताका दौरान चीनको नैतिक समर्थनको भने आश गरेका छैनन्। यसको कारणमा उनले चीन संसदीय व्यवस्था र प्रणालीको हिमायती नभएको संकेत गरेका थिए।

प्रतिक्रिया