
राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
काठमाडौं – नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा आयोजित दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७८ सम्पन्न भएको छ।
दुई दिन भएको प्रतियोगितामा विभिन्न जिल्लाका दुई सय खेलाडीको सहभागिता थियो। फागुन २७ र २८ गते भएको प्रतियोगिता ललितपुरको मंगलबजारको हखामा भएको थियो।
प्रतियोगितामा पुरुषतर्फ खुल्ला तौल समूहमा रुपक नेपाली प्रथम र सनी सिंह द्धितिया भए भने ६० केजी तौल समूहमा हितेश रानामगर पहिलो र संजयकुमार गुप्ताले दोस्रो स्थान प्राप्त गरे।
त्यस्तै ५५ केजी समूहमा ओम तामाङ र रोशन गोतामेले क्रमशः पहिलो र दोस्रो स्थान प्राप्त गरेका हुन्।

महिलातर्फ ५० केजी समूहमा शान्ति थापामगर र एकता कुमाल त्यस्तै ५५ केजी समूहमा रोहिणी कस्ती र बन्दना तामाङ क्रमशः पहिलो र दोस्रो भएका हुन्। महिला खुल्ला तौल समूहमा भने मञ्जु विक र सुष्मिता सुनुवारले बाजी मारे।
प्रतियोगितामा प्रथम हुने हरेक खेलाडीले नगद १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन्।
साथै प्रथम भएका खेलाडीमध्येबाट गोलाप्रथाद्वारा नेपाली सेनाका खेलाडी शान्ति थापा मगरलाई पहिलो पटक ५० हजार रुपैयाँको स्वर्गीय रामजीप्रसाद बज्राचार्य स्मृति पुरस्कार पनि प्रदान गरिएको छ।
प्रतियोगिताको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरेका थिए। सो अवसरमा उनले आगामी वर्ष हुने तेस्रो मेयर कप संस्करणको लागि ललितपुर महानगरपालिकाबाट आवश्यक बजेट विनियोजनको लागि रातो किताबमा उल्लेख गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।



कागजपत्र |
