निर्माण व्यवसायी महासंघ अध्यक्षमा पुनः सिंह विजयी


काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह दोस्रोपटकका लागि निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट ७६५ मत ल्याएर सिंह अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षका लागि सिंहसँगै निकोलस पाण्डे र हुमनाथ कोइराला चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । सिंहले ७६५ मत पाउदा पाण्डेले ३३७ र कोइरालाले ३२ मत मात्रै प्राप्त गरे ।

महासंघको बरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा ५६३ मत प्राप्त गर्दै विजयी भएका छन् भने लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशबाट उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट उपाध्यक्षमा प्रकाश बहादुर सेठी निर्विरोध निर्वाचित भएका छन् । उता महासचिवमा रोशन दाहाल ७१९ मत ल्याएर विजयी भएका छन् ।

उप—महासचिव नीतिगततर्फ शिवहरि घिमिरे र आन्तरिकतर्फ नरहरि थपलिया विजयी भएका छन्। कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ विजयी भएका छन्। अध्यक्षमा निर्वाचित सिंहको प्यानलबाट उठेकामध्ये सह–कोषाध्यक्षमा सन्तोष शाह निर्वाचित भएका छन्। कार्यसमिति पदाधिकारीका लागि भएको चुनावमा १,१८५ जनाले मतदान गरेका थिए।

महासंघको ५९ सदस्यीय कार्यसमितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएटसहित आठ उपाध्यक्ष, महासचिव १ उपमहासचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्षसहित ४६ पदमा निर्वाचन भएको महासंघले जनाएको छ। अधिवेशनले तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

प्रतिक्रिया