रौटहटमा भारतीय गाडीको ठक्करबाट एकको मृत्यु एक घाइते

स्थानीयले जलाए गाडी


काठमाडौँ – रौतहटको गुजारामा भारतीय गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा अर्की एक महिला घाइते भएकी छन्।

गुजारा नगरपालिका ३ मा विआर ०५ पिए ५००० नम्बरको भारतीय गाडीको ठक्करबाट सोही ठाउँकी ४० वर्षीया गीतादेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

महिलालाई ठक्कर दिएलगत्तै आक्रोशित स्थानीयवासीको भीडले गाडीमा आगजनी गरेका छन्। गाडी पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका प्रमुख लीलाराज लामिछानेले जानकारी दिए।

सोही गाडीको ठक्करबाट अर्की एक महिला घाइते भएकी छन्। जथाभावी चलाइएको उक्त गाडीको ठक्करबाट केही खसी बाख्रासमेत मरेका स्थानीयले बताएका छन्।

गुजाराको पशुपति टोलमा भएको एक विवाह कार्यक्रममा आएका जन्तीले रक्सी खाएर गाडी चलाउँदा दुर्घटना भएको स्थानीयको भनाई छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया