झापा गोल्डकप : घरेलु टोली झापा ११ विजयी


झापा – झापा गोल्डकपको आजको प्रतियोगितामा घरेलु टोली झापा–११ विजयी भएको छ । प्रतियोगितामा सङ्कटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका लागि विमल घर्तीमगरले दुई गोल गरे ।

उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरे । १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हुन् । अर्को गोल ५८औँ मिनेट विकास मेरग्लियाको क्रसमा विमलले दोस्रो गोल गरे । खेलको ५५औँ मिनेटमा झापाका सत्यम शर्माको फ्रिकिक विपक्षी गोलरक्षक रोहित कार्कीले बचाए ।

५८औँ मिनेटमा झापाका देवेन्द्र तामाङको हेडर पोस्ट नजिकबाट बाहिरियो । ८७औँ मिनेटमा झापाका रुमेश बर्तौलाले गोल गर्न सकेनन् । विशाल राईको पासमा गोलरक्षकसँग वान भर्सेज वान रहेका बर्तौलाले गोल गर्न सकेनन् ।

खेलमा सङ्कटाले बनाएका मुभ विपक्षी टिम खेलाडीले विफल बनाए । सङ्कटाले खेलको २३औँ मिनेटमा गणेश हमालले पेनाल्टी एरियाबाट गरेको प्रहार विपक्षी गोलरक्षक दीपक कार्कीले बचाए । ३०औँ मिनेटमा सङ्कटाका यानिकले पेनाल्टी बक्सबाट गरेको प्रहार विश्वास श्रेष्ठले बचाए । ३२औँ मिनेटमा सङ्कटाका कप्तान रवि सिलवालको फ्रिकिक प्रहार विपक्षी गोलरक्षक कार्कीले बचाए ।

८१औँ मिनेटमा सङ्कटाका दिपेश आलेमगरले पेनाल्टी एरियामा गरेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरे । खेलको अतिरिक्त समयमा फोडे फोफोनाले शक्तिशाली प्रहार झापाका गोलरक्षक कार्कीले बचाए । जितसँगै झापाले फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । झापा गोल्डकपको फाइनलमा आर्मी र घरेलु टोली झापाको यो चौथो भेट हो । यसअघिको फाइनलमा भएका तीनवटै भेटमा आर्मीले जित निकालेको छ ।

फागुन २१ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल सोमबार हुनेछ । गोल्डकपको विजेताले रु १२ लाख ५५ हजार र उपविजेताले रु छ लाख पाँच हजार नगद प्राप्त गर्ने आयोजकका महासचिव गजेन्द्रबहादुर पौडेलले जनाएका छन् ।

प्रतिक्रिया