आत्मसमर्पण नगर्ने युक्रेनको अडानपछि रुस र युक्रेनको वार्ता निष्कर्षविहीन


किभ – रुस र युक्रेनका विदेश मन्त्रीबीचको वार्ता विना निष्कर्ष सकिएको छ । टर्कीको अन्टाल्यामा रुसी विदेश मन्त्री सर्गेइ लाभरोभ र युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाबीच आज बिहीवार भएको वार्तामा कुनै प्रगति नभएको जनाइएको छ ।

वार्तापछि बोल्दै रुसी विदेश मन्त्री लाभरोभले रुस युक्रेनमा मानवीयताको रक्षार्थ तयार रहेको पुरानै दाबी दोहोर्‍याएका छन् । उनले युक्रेनले कसैकाे उक्साहटमा नलागी आफ्नो निर्णय आफैँ गरोस् भन्ने रुसी चाहना रहेको बताएको खबरमा उल्लेख छ ।

लडाइँ भइरहेका सहरबाट नागरिकलाई बाहिर निकाल्नका लागि रुसले सहयोग गरिरहेको विदेश मन्त्री लाभरोभको भनाइ छ। यस्तै वार्तापछि बोल्दै युक्रेनका विदेश मन्त्री कुलेबाले वार्तामा कुनै प्रगति नभएको र आफूहरूले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने अडान दोहोर्‍याएकाे बताए । ‘म दोहोर्‍याउन चाहन्छु, युक्रेनले कहिल्यै आत्मसमर्पण गरेन, गर्दैन र गर्ने पनि छैन’, कुलेबाले भनेका छन् ।

रुसले आफ्नाे देशमा युद्धविराम गर्नुपर्ने र सेना फिर्ता गर्नुपर्ने युक्रेनको अडान रहेको छ । तर वार्तामा मावनीय समस्याको समाधान खोज्ने सम्भावनाका विषयमा भने सकारात्मक छलफल भएको र थप वार्ताका लागि दुवै पक्ष तयार रहेको युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । बीबीसी

प्रतिक्रिया