सदन अवरुद्ध र मूल्यवृद्धिकाे मारमा निर्माण व्यवसायी, उद्योग समस्याग्रस्त


काठमाडाैं – रुस र युक्रेनबीच जारी द्वन्द्वको मारमा नेपालको निर्माण उद्योग परेको छ । द्वन्द्वका कारण अन्तर्राष्ट्रिय स्तरमा भइरहेको इन्धनको भारी मूल्यवृद्धिको मार नेपाली निर्माण उद्योगले खेप्नुपरेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

महासंघले बुधवार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी सोबारे जानकारी गराएको हो । इन्धनको मूल्यवृद्धिसँगै निर्माण सामाग्रीमा समेत अत्याधिक मूल्यवृद्धि खेप्नु परेको महासंघका महासचिव रोशन दाहालले सम्मेलनमा जानकारी गराए ।

महासचिव दाहालले भने,‘रुस र युक्रेनबीचको युद्धका कारण इन्धनको मूल्य बढेको छ, निर्माण सामाग्रीको मूल्य बढेको छ, हामी निर्माण व्यवसायीहरू मारमा परेका छौँ ।’

महासंघले मूल्यवृद्धिको समस्या समाधानका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले मूल्यवृद्धि निर्देशिका-२ जारी गर्नुपर्ने जनाएको छ ।यस्तै आकाशिँदो मूल्यवृद्धि नियन्त्रण र हालै जारी गरिएको बीमा सम्बन्धी निर्देशिका खारेज नभएमा निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रने चेतावनी समेत महासंघको छ ।

यस्तै महासंघका अध्यक्ष रवी सिंहले विकास निर्माणको काम हुन नसक्नुमा सरकारको कमजोरी रहेको तर्क गरे । उनले सरकारले नीतिगत व्यवस्था गर्न ढिलाई गरेका कारण विकास तथा निर्माणका काम अगाडि बढ्न नसकेको उनको भनाइ छ ।

अध्यक्ष सिंहले भने,‘सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधन अड्कीएको अवस्था छ । यो कार्यान्वयनमा नआउँदा हामी निर्माण व्यवसायीहरू कोमामै पुगिसकेका छौँ । त्यसकारण विकास निर्माणका काममा सरकारले पनि सक्रियता देखाउनुपर्यो ।’

उनले सदन अवरुद्ध भएकाले निर्माण उद्योग समस्याग्रस्त भएको बताए । चाँडो सदन खुलाएर ऐनलाई पास गरेर अगाडि बढ्न समेत अध्यक्ष सिंहले आग्रह गरे । अध्यक्ष सिंहका अनुसार सार्वजनिक खरिद नियमावली संशोधन नभएर अहिले ३० अर्बभन्दा बढी धरौटी रोकिएको छ ।

यस्तै स्थानीय तहमा ७ अर्ब, संसद विकास कोष र अस्पतालहरूको पनि भुक्तानी हुन बाँकी रहेको महासंघले जनाएको छ । सार्वजनिक खरिद नियमावलीको एघारौ संशोधनले निर्माण उद्योगमा देखिएका धेरै समस्या समाधान गर्ने उनको भनाइ छ ।

महासंघको २३ औं साधारण सभा तथा १२ औं अधिवेशन यही फागुन २७, २८ र २९ गते राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । साधारण सभा तथा अधिवेशन कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया