सुनको भाउले बनायो नयाँ रेकर्ड


काठमाडौं – बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो मंगलबार १ लाख ३ हजार कायम भएको थियो।

अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले मूल्य बढेसँगै डेढ वर्षअघिको उच्च मूल्यको रेकर्ड तोडिएको छ। २०७७ साउन २३ गते प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यतिबेला कोरोना महामारीका कारण सुनको माग अत्याधिक बढ्दा मूल्य आकासिएको थियो । यस पटक भने युक्रेनमाथि रुसको आक्रमणका कारण सुनको भाउ आकासिएको व्यवसायी बताउँछन्।

युक्रेनमाथि भएको आक्रमणलाई लिएर रुसमाथि अमेरिकाले पेट्रोलियम पदार्थको आपूर्तिमा प्रतिबन्ध लगाउने भएपछि सुनको मूल्य बुधबार थप बढेको व्यवसायीको भनाइ छ । यसअघि मंगलबार सुनको मूल्य स्थिर रहेको थियो ।

बुधबार चाँदीको भाउ पनि बढेको छ। चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १४१० रुपैयाँ थियो। सामान्यत सुन र चाँदीको भाउ सम्बन्ध सकारात्मक हुन्छ । प्राय सुनको भाउ बढ्दा चाँदीको पनि बढ्ने गर्छ।

प्रतिक्रिया