२३ मिनेटमा लेवान्डोस्कीको ह्याट्रिक


काठमाडौँ- स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक पूरा गरेपछि बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार साल्जवर्गमाथि अन्तिम १६ दोस्रो लेगमा ७-१ को सानदार जितसहित बार्यनले क्वाटरफाइनल यात्रा तय गरेको हो ।

तीन साता अघि पहिलो लेगमा १-१ को बराबरी खेलको बायर्न लेवान्डोस्कीले सुरुआती २३ मिनेटमा ह्याट्रिक पूरा गर्दा सहज जित हात पार्न सफल भएको हो ।

बायर्न समग्रमा ८-२ को जितसहित अन्तिम आठमा प्रवेश गरेको हो । १२औं मिनेटमा लेवान्डोस्कीको पेनाल्टी गोलमा बायर्नले अग्रता लिएको थियो ।

२१औं मिनेटमा लेवान्डोस्कीले दोस्रो पेनाल्टी प्रहारको पनि सदुपयोग गर्दा बायर्नले अग्रता दोब्बर पारेको थियो । त्यसको दुई मिनेटपछि नै लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दै बायर्नको अग्रता ३-० मा पुर्‍याएका थिए । लेवान्डोस्की च्याम्पियन्स लिगमा सबै भन्दा छिटो ह्याट्रिक पूरा गर्ने खेलाडीसमेत बनेका छन् ।

३१ औं मिनेटमा सेर्जी जीनाब्रीले बायर्नका लागि चौथो गोल गरे । ५४औँ मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई सहज जिततर्फ डोर्‍याएका थिए ।

७०औं मिनेटमा काजगार्डको गोलमा साल्जवर्गले गोलअन्तर कम गर्ने संकेत गरेको थियो ।८३औं मिनेटमा मुलरको गोलमा बायर्नले आफ्नो अग्रता ६-१ मा पुर्‍याएको थियो । त्यसको दुई मिनेटपछि नै लोरी सेनले बायर्नका लागि सातौँ गोल गरे ।

अन्तिम १६ को अर्को खेलमा इन्टर मिलानसँग दोस्रो लेगमा १-० अन्तरको हार बेहोरे पनि लिभरपुलले समग्रमा २-१ ले विजयी हुँदै क्‍वाटरफाइनलमा स्थान बनाएको छ ।

प्रतिक्रिया