
आन्तरिक रेमिट्यान्सको सीमा घट्यो, अब २५ हजारभन्दा बढी पठाउन नपाइने
काठमाडौं –नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण (रेमिट्यान्सको) सीमा घटाएको छ । केन्द्रीय बैंकले आज बुधबारदेखि नै लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो । राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै रेमिट कम्पनीका एजेन्ट तथा सबएजेन्टमार्फत पठाइने रेमिटको सीमा घटाएको जानकारी दिएको हो ।
राष्ट्र बैंकले विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’ हरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन २५ हजार रूपैयाँसम्म मात्रै गर्न पाउने व्यवस्था गरेको हो । यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबारको अधिकतम सीमा एक लाख रूपैयाँसम्म थियो । केन्द्रीय बैंकले विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमामा भने कुनै परिवर्तन नगरिएको जनाएको छ ।
राष्ट्र बैंक स्रोतका अनुसार हुन्डीबाट हुने रेमिट्यान्सको भुक्तानी रोक्न पनि यो व्यवस्था ल्याइएको हो । विदेशबाट रेमिट्यान्सको रूपमा आउने विदेशी मुद्रा अन्य कामका लागि उतै प्रयोग भए पनि नेपालभित्रका रेमिट कम्पनीमार्फत यहाँ नेपाली मुद्रामा भुक्तानी हुने गरेको आशंकामा पनि यस्तो सीमा घटाइएको हो ।
पछिल्लो समय रेमिट्यान्सको रूपमा भित्रिने रकम मुलुकबाहिरै विभिन्न लगानी उपकरण (क्रिप्टोकरेन्सी कारोबार)मा खर्च भइरहेकाले मुलुकमा विदेशी मुद्रा कम भित्रिरहेको आशंका राष्ट्र बैंकले गरेको छ । चालू आवको ६ महिनामा मुलुक भित्रिने रेमिट्यान्स रकममा ५ दशमलव ५ प्रतिशतले घटेर चार खर्ब ६८ अर्बमा सीमित भएको छ ।



कागजपत्र |
