

नेपाली कांग्रेस राजनीतिमा मनिषा कोइरालाको ‘स्पेश’

काठमाडौं– नेपालको नयाँ नक्शा प्रकाशनपछि परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले गरेको ट्वीटलाई रिट्वीट गरेपछि भारतीय मिडियाले मनिषा कोइरालालाई ‘कन्टेन्ट इश्यु’को अधिकतम महत्व दियो।
बलिउडमा एउटा समय तहल्का मच्चाएकी कोइरालाको व्यक्तिगत टिप्पणी गरेका कारण त्यसले केही चित्त दुखाएको थियो, सायद। तर भारतका मिडियामा विस्तारै छायाँमा परेकी उनी एक्कासी बहसको विषयबस्तु बनिन्। त्यसको कारण थियो– उनको मुलुकप्रतिको माया।
धेरै नेपाली यसैबेला अनुमान लगाए अब कोइराला नेपाली राजनीतिमा जम्नेछिन्। कोरोना महामारीको यो बीचमा भारतमा भइरहेको आलोचना छिचोल्दै कोइराला काठमाडौं आइन्।
बीचमा उनीबारेको चर्चा साम्य भएको थियो। तर उनीभित्र रहेको नेपाली कांग्रेस प्रेम, वीपी कोइरालाको राजनीतिक योगदानको चर्चा नहुनुलाई सांकेतिक रुपमा विवरणमा उतारेको पाइयो।
एउटा अन्तरवार्ताको दौरान कोइरालाले राजा नै राष्ट्रवादका नायकको संकेत गरेकी थिइन्। उनले प्रजातन्त्र, लोकतन्त्र र अहिलेको परिवेशमा कांग्रेसको स्पेश नदेखेपछि भनेकी थिइन्,‘यस्तो हुँदा साह्रै दुख लाग्छ।’
यति मात्र होइन राम्रो काम गर्ने जुनसुकै पार्टी होस् वा विचारधाराको प्रशंशा गर्न नसक्नु नेपाली राजनीतिको दुखद परिणाम रहेको पनि बताइन्। ‘कांग्रेस होस्, राजावादी होस्, कम्युनिस्ट होस् वा जोकोही देशप्रेमका लागि काम गरेको राम्रो हुन्छ।’ उनले राजनीतिमा आफ्नो भविष्यबारे त त्यति खुलेर बताउने गरेकी छैनन् तर उनका विचारले विस्तारै नेपाली कांग्रेसमा उनको ‘स्पेश’को खोजी भइरहेको प्रतीत हुन्छ।
कसरी?
तत्कालिन राजा ज्ञानेन्द्र शाहले १९ माघ प्रकरणपछि घोषणा गरेको निर्वाचनका बेला बुवा तथा कांग्रेस विचारधाराका उम्मेदवार प्रकाश कोइरालालाई सघाउन मनिषा आएकी थिइन्। बलिउडमा त्यस्तो व्यवस्तता र व्यग्रतामा उनको काठमाडौंमा चुनावी प्रचार अस्वभाविक संकेत थिएन। उनी उत्तरार्धतिरको समय राजनीतिमा नै सक्रिय हुने संकेतका रुपमा उदाएकी थिइन्।
हालै दिएको सोही अन्तरवार्ताका क्रममा उनले वीपी कोइरालाको आदर्श र देशप्रेमबारे बोल्दै राजनीतिमा सोचनिय प्रश्न गरिन्,‘जुन राजाले जेलमा राखेर दुख दियो, वीपी बाले त्यहि राजासँग घाँटी जोडिएको छ भन्नुभयो, किन भन्नुभयो होला? आजको कांग्रेसले बुझ्न पर्दैन?’
अहिले मुलुकमा हिन्दू राष्ट्र र राजसंस्थाको आवाज एकातिर बलियो बनिरहेको छ। अर्कातिर नेपाली कांग्रेसभित्र उनै वीपीपुत्र डा. शशांक कोइरालाले हिन्दू राष्ट्रका निम्ति जनमत संग्रह गर्न सकिने बयानबाजी दिएका छन्।
यदि कांग्रेसको महाधिवेशनमा कोइराला विरासत फर्किएको खण्डमा मनिषा कोइरालाको पनि राजनीतिक प्रस्थानविन्दु उपल्लै तहबाट हुने प्रक्षेपण गरिएको छ, जसरी सुजाता कोइरालाको भएको थियो। तर, मनिषा सुजाताको तुलनामा निक्कै शिघ्र नै राजनीतिको उचाईमा पुग्न सक्ने विश्लेषकहरू बताउँछन्।
यसका पछाडि यति लामो समयसम्म उनले सिनेमा क्षेत्रमा विश्व जगतमा आफूलाई स्थापित गर्नु मात्र होइन, भारतमा लामो समय बसेर त्यहाँका कलाकारसहित राजनीतिज्ञसँगको माधुर्य सम्बन्धको कसीमा पनि राखेर अनुमान गरिएको छ।

