प्रभुको रोचक कथाः बाबुरामका थिए, प्रचण्डलाई भ्याए, ओलीतिर आए


काठमाडौं– संविधान निर्माणपछि तत्कालिन एकीकृत माओवादीबाट अलग भए– डा. बाबुराम भट्टराई।

त्यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एमाओवादीमा अन्तरविरोध र शक्ति संघर्षका टकराब हुन्थे। तराई मधेसका लागि प्रचण्डका तर्फबाट मात्रीका यादव मियोँका रुपमा हुन्थे। त्यसबेला यादव मोहन वैद्यतिर भएपनि प्रचण्डप्रति अनुग्रहित नै थिए। तर त्यसको समानान्तरका लागिचाहिँ बाबुरामले प्रभु साहको उपयोग गरेका थिए।

साह बाबुरामकै खास मानिन्थे। जब एमाओवादीमा विचलन आएर बाबुराम हिँडे, प्रभुले साथ दिएनन्। उनी प्रचण्डसँगै रहे र राजनीतिक रुपमा शक्ति केन्द्रसँग नजिक भए। प्रचण्डका खास मान्छेका रुपमा रहेका उनी मात्रीका यादव फेरि एकीकरणमा आएपछि आन्तरिक टसलमा पुगे। पछिल्लो पटक उनको टसल एकीकरणपछि सत्यनारायण मण्डलसँग थियो। इञ्चार्ज र संयोजक तथा २ नम्बर प्रदेश अध्यक्षको विवाद त्यहिँ थियो।

साह पार्टीभित्र फरक प्रकृति र मधेस क्षेत्रमा लोकप्रियतासँगै आलोचनाका पात्र पनि हुन्। उनी एउटा फौजदारी अभियोगमा जेल समेत जान सक्ने थिए तर शक्ति केन्द्रको आसपास नै रहने गरेका कारणले जानु परेन।

बाबुराम प्रधानमन्त्री भएका बेलादेखि नै उनका कतिपय अपराधका अभियोगहरूले अगाडिको प्रक्रिया छुन पाएन। हिन्दूवादी काशी तिवारी हत्या प्रकरणसँगै भएको पर्साको एउटा आपराधिक घटनामा आफू प्रधानमन्त्री हुँदा डा. बाबुराम भट्टराईले प्रभु साहलाई बचाएको खुलासा त त्यसबेला पर्साको प्रहरी प्रमुख रहेका रमेश खरेलले खुलेआम भनि सकेकै छन्।

साह अहिले ओली कित्तामा हतासमा आउनु मन्त्री पदका लागि मात्र नभई भोली हुनसक्ने विविध अपराधका घटनाको छानबिनका क्रममा अपराध मुद्दा व्युँतिनु पनि रहेको स्वभाविक अनुमान गरिएको छ।

‘प्रचण्डले सामूहिक रुपमा जेल जान तयार हुने अवस्था पनि आउने बताएपछि प्रभु साहले त्यसको विश्लेषण गरेको हुनुपर्छ। यसकारण एकै रातमा आफैंले प्रतिगमन भनेको कुर्सीको पक्षमा उनी उभिन पुगे’, स्रोतले भन्यो,‘अपराधबाट संरक्षण मात्र होइन, मन्त्री पदको उपहार पनि भ्याए।’

शक्तिको वरिपरि नै रहने उनको भोक छ। त्यसैले संसद विघटनको तिव्र आलोचना गरी प्रचण्ड–माधव नेपाल क्याम्पमा पुगेका उनी ओलीतिर फर्किनुको कारण हो– सर्वोच्च अदालतले गरेको आदेश। उनले बुझे– शक्ति ओली केन्द्रित हुनेछ। ‘आफू ताकतमा बस्नका लागि उनी जुनसुकै प्रकारको सम्झौताका लागि तयार रहन्छन्’, उनको संगत गर्नेहरू भन्छन्,‘बाबुरामका थिए, प्रचण्डलाई भ्याए अहिले ओलीतिर आए।’

शुक्रबार मात्रै विस्तार गरेको मन्त्रिपरिषदमा उनको जिम्मामा सहरी विकास मन्त्रालय परेको छ। यसअघि पनि मन्त्री भइसकेका उनी त्यसपछि श्रम समितिमा रहेका थिए।

प्रतिक्रिया