जसपा अध्यक्ष उपेन्द्र यादवको अधिकारमा कटौती, निर्वाचनमा हस्ताक्षर नचल्ने


काठमाडौ – जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको जारी बैठकले अध्यक्ष उपेन्द्र यादवले विगतमा प्रयोग गर्दै आएको अधिकार कटौती गरेको छ ।

पार्टीभित्र ‘एकलौटी निर्णय गर्ने गरेको’ भन्दै ‘सामूहिक र समावेशीको नेतृत्व’ को माग गर्दै आएका असन्तुष्ट बाबुराम भट्टराई पक्षधरको दबाब बढ्दै गएपछि अध्यक्ष यादवको अधिकार पहिलोपटक कटौती भएको हो ।

जारी बैठकले स्थानीय तहको निर्वाचनको उम्मेदवारी मनोनयनमा अध्यक्षको अधिकार कटौती गर्दै हस्ताक्षरको अधिकार पार्टीका केन्द्रीय बोर्ड सदस्य अशोक राईलाई दिएको छ ।

यसअघि यादवले हस्ताक्षर गर्दै आएका थिए । उनले आफ्नो हस्ताक्षर चल्नुपर्ने अडान राखे पनि बहुमत केन्द्रीय सदस्यले हस्ताक्षरको अधिकार राईलाई दिनुपर्ने अडान राखेपछि उनी पछि हटेका हुन । एकल नेतृत्व गर्दै आएका यादवको थप अधिकार कटौती गर्दै यादव, भट्टराई र राई नेतृत्वको केन्द्रीय बोर्डको गठन गरिएको छ ।

यसैगरी, निर्वाचन आयोगदेखि अन्य निकायसम्म आधिकारिक पत्राचार गर्नेदेखि जिम्मेवारीसम्म पनि पहिलोपटक भट्टराई पक्षधर नेताले प्राप्त गरेका छन् । भट्टराई पक्षधर गंगा श्रेष्ठ र प्रकाश अधिकारीले निर्वाचन आयोगदेखि अन्य निकायसम्म ‘सम्पर्क व्यक्ति’ को रूपमा रहने गरी केन्द्रीय कार्यकारिणी समिति बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया