बैंक तथा वित्तीय संस्थामा २५ करोड लगानी गर्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको हो। जसअन्तर्गत वाणिज्य बैंकहरुमा २० करोड रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकहरुमा ३ करोड ७५ लाख रुपैयाँ र फाइनान्समा १ करोड २५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्ने राष्ट्र बैंकले बताएको छ।

केन्द्रीय बैंकले मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न आह्वान गरेको छ। यसका लागि फागुन १८ गते दिउँसो ३ बजेसम्म बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा इमेलमार्फत ब्याजदर प्रस्ताव पेस गर्नुपर्नेछ।

लगानी आगामी चैत १ गतेदेखि २०७९ फागुन ३० गतेसम्म ३६५ दिनका लागि हुने केन्द्रीय बैंकले बताएको छ। यस्तो मुद्दति निक्षेपका रुपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुको राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम भने हुनुपर्नेछ। त्यस्तै निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्नेछ भने खुद तरलता सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने राष्ट्र बैंकले बताएको छ।

 

प्रतिक्रिया